सहाराको शानदार जित, सडेन डेथ पार गर्दै सेमिफाइनलमा स्थान सुरक्षित

पोखरा स्पोर्ट्स । जारी २५औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहारा क्लबले रोमाञ्चक जित दर्ता गरेको छ । सहाराले विभागिय टोली नेपाल पुलिस क्लबलाई सडेन डेथसम्म पुगेको पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।

निर्धारित समयको खेलमा पुलिस क्लबले ४९औं मिनेटमा राम वाजीको गोलमार्फत अग्रता लिएको थियो । खेलको ६०औं मिनेटमा सहाराले पाएको पेनाल्टीलाई मुकुन्द निउरेले सफलतापूर्वक गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका थिए ।

अतिरिक्त समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । सुटआउटमा पुलिसका राम वाजीको प्रहार असफल रहँदा सहाराका गोलरक्षक दिपेन्द्र थापा पनि गोल गर्नबाट चुके । तर सडेन डेथमा पुगेको खेलमा पुलिसका धिरेन्द्र शाहको प्रहारलाई उत्कृष्ट रूपमा बचाउ गर्दै दिपेन्द्रले टोलीलाई सेमिफाइनल पुर्‍याउन निर्णायक भूमिका खेले । उनले खेलभर पुलिसका धेरै प्रहार बचाउँदै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उत्कृष्ट प्रदर्शनका लागि डिपेन्द्र थापा प्लेयर अफ द म्याच घोषित हुँदै नगद रु १० हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

यस जितसँगै सहारा क्लब प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । यसैबीच प्रतियोगिता अन्तर्गत भोलि जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाइटेडका बीच दोस्रो क्वार्टरफाइनलमा प्रतिस्पर्धा हुने तालिका रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close