गण्डकी प्रदेशस्तरीय स्क्वासमा राजु र समिक्षा बने बिजेता

पोखरा स्पोर्ट्स । पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय स्क्वासमा राजु श्रेष्ठ र समिक्षा खाड बिजेता बनेका छन् । गण्डकी प्रदेश स्क्वास र्याकेट संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ उनीहरु बिजेता बनेका हुन् ।

पुरुषतर्फको फाइनलमा खेलमा राजुले पूर्व नेशनल च्याम्पियन हिराकाजी श्रेष्ठलाई ५–११, ११–८, ११–४ र ११–५ को सेटमा पराजित गरेका थिए । त्यसै गरी पुरुषतर्फ रुक बहादुर गुरूङ र नवराज श्रेष्ठले तेस्रो स्थान हात पारे ।

यसै गरी महिलातर्फ सृष्टिका उदास दोस्रो भइन भने निस्ता श्रेष्ठ तेस्रो बनिन् । विजेता, उपविजेता र तेस्रो स्थान हात पार्ने खेलाडीहरुले क्रमश जनही नगद रु ८, ५ र ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्मा, परिषदका सदस्य रविन बहादुर प्रजु, स्क्वास र्याकेट संघका केन्द्रिय सदस्य सन्तोष घिमिरे, कास्की टेनिसका अध्यक्ष प्रविन पालिखेलगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै परिषदका सदस्य सचिब श्रीधर शर्माले नेपाली खेलकुदमा राज्यको न्यून लगानीले खेलकुद विकास पछि परेको बताए । उनले राज्यका सबै तहमा न्यून लागनीकै कारण खेलाडीहरु पलायन हुने अवस्था आएकोले परिषदले खेलाडीहरुको हितका लागि खेलाडी कल्याणकारी कोष, छात्रवृती, विमाजस्ता महत्वपूर्ण कार्यक्रम अघि सार्दै कार्यान्वयन समेत गरेको बताउँदै अव खेलाडीहरुलाई स्वरोजगार बनाउने गरी अघि बढेको जनाए ।

सदस्य सचिब शर्माले दशौं राष्ट्रिय खेलकुद समयमा नहुँदा खेल क्षेत्र प्रभावित बनेको उल्लेख गर्दै संघिय सरकार मौन बस्दा झनै अन्यौलता छाएको बताए । उनले भने–“त्यही सरकारको क्याविनेट हो जसले फागुनको पहिलो साता दशौं हुने निर्णय गरेको थियो । यती बेला सरकार मौन छ । तर प्रदेश खेलकुद परिषद खेलाडीहरुले खेल्न पाउने अधिकार र खेल संघहरुलाई चलायमान बनाउन दशौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप सिमित स्रोत साधनमा समेत विभिन्न प्रतियोगिताहरु अघि बढाएका छौं ।”

समापन कार्यक्रम गण्डकी प्रदेश स्क्वास र्याकेट संघका अध्यक्ष अशोक रञ्जितको अध्यक्षतामा भएको थियो । उनले प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैमा आभार व्यक्त गरे । दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा २४ पुरुष र ४ महिला गरी २८ खेलाडीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close