
पोखरा स्पोर्ट्स । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत १७औँ खेलमा आज नेपाल र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३: १५ बजेदेखि मुम्बईको वानखेड़े स्टेडियममा सुरु हुनेछ । दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेका कारण आजको खेल उनीहरूका लागि पहिलो जित दर्ता गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
नेपालले सन् २०१४ को टी-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो । त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन । अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र इटालीबीच यो पहिलो भेट हुनेछ ।
गत फेब्रुअरी ८ मा यही मैदानमा इंग्ल्याण्डविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र ४ रनले पराजित भएको थियो । उता, प्रतियोगितामा डेब्यु गरिरहेको इटाली पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो ।
नेपालको ब्याटिङ क्रम सन्तुलित देखिन्छ । ओपनर कुशल भुर्तेल आक्रामक सुरुवात दिन सक्षम छन् । मध्यक्रममा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख टोलीका मुख्य आधार हुन् । इंग्ल्याण्डविरुद्ध लोकेश बामले जोफ्रा आर्चर र आदिल राशिदजस्ता बलरविरुद्ध आक्रामक ब्याटिङ गर्दै ३९ रन जोडेका थिए । कप्तान रोहित पौडेलले पनि ३९ रनकै योगदान दिएका थिए ।
सन् २०२४ पछि कुशल भुर्तेल नेपालका शीर्ष रन स्कोरर बनेका छन् । उनले २५ खेलमा ७३१ रन बनाएका छन् । बलिङतर्फ सन्दीप लामिछाने उत्कृष्ट लयमा छन् । उनले १५ खेलमा ३० विकेट लिँदै प्रभावशाली प्रदर्शन गरेका छन् ।
अर्कोतर्फ इटालीको पहिलो खेल निराशाजनक रह्यो । २०८ रनको लक्ष्य पछ्याउने क्रममा टोलीका ६ ब्याट्सम्यानले दोहोरो अंकसमेत छुन सकेनन् । बेन मेनेंटीले अर्धशतक प्रहार गरे पनि अन्य ब्याटर असफल भए । टोलीका कप्तान चोटका कारण पूर्ण फिट नरहेको बताइएको छ ।
वानखेड़ेको पिच ब्याट्सम्यान मैत्री मानिन्छ । सानो बाउन्ड्री र छिटो आउटफिल्डका कारण उच्च स्कोर बन्ने सम्भावना रहन्छ । टस जित्ने टोलीले पहिले ब्याटिङ रोज्न सक्ने अनुमान गरिएको छ । मौसम सामान्य रहने र वर्षाको सम्भावना न्यून रहेको छ । आजको खेलले दुवै टोलीको विश्वकप यात्रालाई नयाँ दिशा दिन सक्छ ।
सम्भावित प्लेइङ- ११
नेपाल- रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, आरिफ सेख, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव, शेर मल्ल ।
इटाली- वेन म्याडसेन (कप्तान), जेजे स्मिट, एन्थोनी मोस्का, ह्यारी मेनेन्ती, बेन मेनेन्ती, ग्रान्ट स्टुअर्ट, अली हसन, थोमस ड्रका, कृष्ण कलुगामागे, जसप्रीत सिंह र जीपी मेडे ।
