
पोखरा स्पोर्ट्स । आइसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा ‘डार्क हर्स’ नेपालले क्रिकेट पावरहाउस इंग्ल्यान्डलाई अन्तिम बलसम्म झकझक्याउँदै ऐतिहासिक जितको एकदमै नजिक पुगेर केवल ४ रनले पराजय बेहोरेको छ।
टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्यो। ज्याकोब बेथेलले ५५ रनको आक्रामक इनिङ खेले भने कप्तान ह्यारी ब्रुकले ५३ रन जोडे। अन्तिम ओभरतर्फ विल ज्याक्स ३९ रनमा अविजित रहँदा इंग्ल्यान्डलाई बलियो स्कोरसम्म पुर्याए।
तर नेपालले बलिङमा कहिल्यै दबाब छाडेन। दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिँदै इंग्ल्यान्डको रनगति रोके भने सन्दीप लामिछाने र शेर मल्लले महत्त्वपूर्ण विकेट झारे।
१८५ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले सुरुदेखि नै आत्मविश्वासका साथ ब्याटिङ गर्यो। दिपेन्द्र सिंह ऐरीले जिम्मेवार ४४ रन बनाउँदै इनिङ सम्हाले भने कप्तान रोहित पौडेल र लोकेश बमले समान ३९–३९ रनको योगदान दिए। कुशल भुर्तेलले २९ रनको तेज सुरुवात दिलाए।
अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रन आवश्यक थियो। मैदानमा दर्शकको सास रोकियो, नेपाल जितको ढोकामा पुगिसकेको थियो। तर इंग्ल्यान्डका अनुभवी बलरले दबाबमा उत्कृष्ट बलिङ गरेपछि नेपाल २० ओभरमा ६ विकेटको क्षतिमा १८० रनमै रोकियो।
४ रनको सानो अन्तरले हार व्यहोरे पनि नेपालले देखाएको साहसिक प्रदर्शनले विश्व क्रिकेटलाई सन्देश दिएको छ—नेपाल अब सानो टोली होइन। यो खेलसँगै नेपाल ‘डार्क हर्स’ मात्र नभई ठूलो टोलीका लागि खतरा बन्न सक्ने टिमका रूपमा उभिएको छ।
अब नेपालले आगामी फेब्रुअरी १२ मा इटालीसँग प्रतिस्पर्धा गर्नेछ भने इंग्ल्यान्डले फेब्रुअरी ११ मा वेस्ट इन्डिजसँग खेल्ने तालिका छ।
