
पोखरा स्पोर्ट्स । छैटौं एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले पर्वत जिल्ला भलिबल संघ विरुद्ध सनसनीपूर्ण जित निकाल्दै पर्वतको जितको यात्रामा ब्रेक लगाएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगितामा पर्वतको निरन्तर जितको यात्रामा आर्मीले ३–२ सेटले जित हात पार्दै पर्वतको जितको यात्रामा ब्रेक लगाएको हो । २५–२३, १५–२५, २५–२२, २३–२५ र २०–१८ ले खेल जित्दै आर्मीले पर्वतलाई सोझै फाइनल यात्रा तय गर्नबाट रोकेको हो ।
जितसँगै आर्मीले ४ खेलबाट ५ अंक जोडेको छ । पराजित भएको पर्वतले ४ खेलबाट ८ अंक बनाएको छ । समान ४ खेल खेलेको गण्डकीको ९ अंक छ । ४ खेल खेलेको पुलिसको ७, एपीएफको ६ अंक हुँदा माल्दिभ्स अंकविहिन छ ।
यस्तै पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल एपीएफविरुद्ध सहज जित निकालेको छ । बहुउद्देश्यीय कभर्डहलमा भएको आजको तेस्रो खेलमा पुलिसले एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१५ ले जित निकाल्यो ।
भोली (बिहिबार) तीन खेल हुदै
छैटौं एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबलमा बिहिबार तीन खेल हुँदैछन् । शुक्रबार पहिलो खेल बिहान १० बजे महिलातर्फको एक खेल थाइल्याण्ड क्विन्स र एपिएफ क्लबका बीच हुनेछ । त्यस्तै पुरुषतर्फ हुने पहिलो खेलमा मालदिभ्स भलिबल एशोसियसनले नेपाल पुलिस क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबका बीच हुनेछ ।
नेपाल भलिबल संघको स्वीकृतिमा जारी प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी कुल ११ टिम सहभागी छन् । छैटौं संस्करणमा विदेशी टिमको सहभागिता मुख्य आकर्षणका रूपमा रहेको छ ।
महिलातर्फ थाइल्याण्ड क्विन्स,थाइल्याण्ड तथा पुरुषतर्फ माल्दिभ्सको टिम प्रतिस्पर्धामा छन् । नेपाली क्लबतर्फ महिला समूहमा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप–टप न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब सहभागी छन् ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र पर्वत जिल्ला भलिबल संघ रहेका छन् ।
प्रतियोगिताका महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार प्राप्त गर्नेछन् । प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।
