
पोखरा स्पोर्ट्स । १६औं कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि पौष १८ गते हुने भएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजना १६औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्डको तयारी सुरू गरिएको जनाएको हो । जिल्ला खेलकुदमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका डिबी नेपालीका अनुसार १८ गते सञ्चालन हुने प्रतियोगितामा भलिबल, कवड्डी, र एथलेटिक्स तर्फका खेलहरु हुनेछन् ।
प्रतियोगिता अन्तर्गत भलिबलतर्फ कास्कीका ५ पालिका, कबड्डीतर्फ रुपा बाहेक ४ पालिका तथा एथलेटिक्सतर्फ सबै पालिकाहरुको सहभागिता हुनेछ ।
यस्तै मार्शलआर्ट तर्फ भने अन्य पालिकामा स्पर्धाहरु नभएका कारण पोखरा महानगर पालिकास्तरीय प्रतियोगितामा छनौट हुन सफल खेलाडीहरु सोझै प्रदेशमा सहभागिता जनाउन पाउने भएका छन् ।
जिल्ला खेलकुदले अन्तिम चरणको खेलाडी छनौट गर्न जिल्ला खेलकुद विकास समितिका सदस्य रामचन्द्र गिरीलाई संयोजनको जिम्मेवारी दिएको छ ।
१५औं संस्करणमा पोखरा महानगरले राष्ट्रपति रनिङ शिल्ड आफ्नो पक्षमा पारेको थियो भने प्रदेशस्तरीय प्रतियोगितामा कास्कीले रनिङ शिल्ड जितेको थियो ।
