
पोखरा स्पोर्ट्स । पोखरा १६ स्थित प्रगती माध्यमिक विद्यालयको वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत ‘प्रगती खेल उत्सव २०८२’ सुरू भएको छ ।
पोखरा रंगशालामा आयोजित सो खेल उत्सवको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले उद्घाटन गरे । सो अवसरमा उनले विद्यार्थीको चौतर्फी बिकासका लागि खेलकुद अपरिहार्य रहेको बताउँदै विद्यालयस्तरमा हुने खेल कार्यक्रमले विद्यार्थीहरुको शारिरीक तथा मानसिक स्वास्थ्यलाई सवल बनाउन महत्वपूर्ण हुने जनाए ।
सो अवसरमा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले पोखराको शैक्षिक क्षेत्रमा विद्यालयले पुर्याएको योगदानको प्रशंसा गर्दै निजी विद्यालयहरुको खेलकुद विकासमा समेत महत्वपूर्ण योगदान रहेको दावी गरे ।
उद्घाटन कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बाँनियाको अध्यक्षतामा भएको थियो ।
आइतबारसम्म संचालन हुने उत्सवमा छात्र/छात्रा एथलेटिक्सतर्फ ५०, १००, २००, ४००, ८००, मिटर दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प लगायतका खेल सम्पन्न भएको विद्यालयका सुचना अधिकारी जयराम पौडेलले जानकारी दिएका छन् । त्यस्तै फुटबल, ह्याण्डबल, बास्केटवलका खेलहरु सम्पन्न भएका छन् भने, व्याडमिण्टन सिङ्गल्स तथा डबल्सतर्फ खेलहरु जारी रहेका छन् ।
उत्कृष्ट खेलाडी र टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने छ । विद्यालयका कार्यकारी निर्देशक दिनेशकुमार श्रेष्ठको परिकल्पना रहेको सो उत्सवको कार्यक्रम नियन्त्रणमा महेन्द्र थापाको संयोजकमा सुमन कार्की, सहसंयोजकमा राम पौडेल रहेका छन् ।
विद्यालयले विभिन्न खेलसँग सम्बन्धित क्रियाकलाप अन्तर्गत फुटबल, बास्केटबल, ह्याण्डबल, ब्याटमिन्टन, एथलेटिक्स जस्ता खेलहरूमा प्रशिक्षण गर्दै आएको जनाएको छ । सो विद्यालयमा करिव १ हजार ३ सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
