
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारको निति तथा कार्यक्रम गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेका छन् । गण्डकी प्रदेशसभामा बुधबार आ.व २०८२/०८३ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख भट्टले संघिय सरकारको सहयोगमा मुस्ताङमा हाइअल्टिच्यूड खेल मैदान निर्माण गरिने बताएका हुन् ।
निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख भट्टले भने–“गण्डकी प्रदेशमा खेलकुद प्रवर्द्धन गर्न खेलकुद पूर्वाधार निर्माण, खेलाडी सम्मान र खेल पर्यटन विकास गरिने संगै संघ,प्रदेश, स्थानीय तह साझेदारीमा मुस्ताङ जिल्लामा उच्च पर्वतीय खेलकुद प्रशिक्षणको निर्माण कार्यलाई अगाडि बढाइनेछ।”
मुस्ताङको वारागुङ, मुक्तिक्षेत्रमा हाइअल्टिच्यूड ट्रेनिङ सेन्टर निर्माण गनेृ भन्दै तत्कालिन पृथ्वी सुव्वा गुरूङको सरकारले १० वर्ष अघि योजना अघि सारेको थियो । प्रदेशको निति तथा कार्यक्रममा हरेक वर्ष यो विषय उठान गरिए पनि हाल सम्म प्रदेश सरकारले कुनै रकम विनियोजन गरेको भने छैन ।
सोही क्रममा यो वर्ष समेत प्रदेश सरकारले आफ्नो निति तथा कार्यक्रममा हाइअल्टिच्यूड खेल मैदान निर्माणको विषयलाई प्राथमिकतामा राखेको छ । किनभने संघिय सरकारले ‘हाइअल्टिच्यूड पर्वतिय खेल मैदान’ निर्माण का लागि ३ करोड विनियोजन गरेको छ । तर सो निर्माण कार्य प्रदेश मार्फत हुने व संघिय सरकार आफैले गर्ने भन्ने अझै निश्चित भने भइसकेको छैन ।
नेपाल सरकारसँगको समन्वयमा पोखरा रंगशालाको स्तरोन्नति गरिनुका साथै गण्डकी प्रदेशमा क्रिकेट खेल मैदान निर्माण कार्य अघि बढाइने प्रदेश प्रमुख भट्टले जनाएका छन् ।
राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडीहरुको लागि प्रोत्सहान गरिने कार्यक्रममा उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले भने–“राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने खेल समूहलाई उत्कृष्ट प्रदर्शनका लागि विशेष प्रोत्साहन गरिनेछ।”
