राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन, गण्डकी उपविजेता

पोखरा स्पोर्टस । विभागिय टोली नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ । सिंगल राउन्ड रोविन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । ४ टिम सहभागी महिलातर्फ अपराजित रहँदै आर्मीले सर्वाधिक ९ अंक जोड्यो ।

च्यासल मैदानमा आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोलअन्तरले पराजित गरेको छ । आर्मीका लागि दमरा भट्टले २ तथा सीतामाया बलले १ गोल गरे । दमरा फाइनलको ‘प्लेयर अफ द म्याच’ बनिन् । २ मा जित र १ मा हार व्यहोरेको गण्डकी ६ अंकसाथ दोश्रो भयो ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा ३ अंकसाथ मधेश प्रदेश तेश्रो भयो । मधेशले बागमती प्रदेशलाई १–० गोलले हरायो । भावाना राईले निर्णायक गोल गरिन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार हात पारे ।

आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिइन् भने मधेशकी खुश्बु कुमारी उदीयमान खेलाडी बनिन् । गोलरक्षकमा अनिशा थापा मगर तथा डिफेन्समा सोनु बराल डिफेन्समा उत्कृष्ट ठहरिए । दुवै गण्डकीका हुन् । प्रतियोगिताभर ५ गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । उत्कृष्ट पाँचैले जनही ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close