
पोखरा स्पोर्टस । कास्की जिल्लास्तरीय टि–२० क्रिकेट लिगमा सग्रिला क्रिकेट क्लब च्याम्पियन भएको छ ।
पोखरामा आइतबार सम्पन्न फाइनलमा कास्की क्रिकेट क्लबलार्ई ५ विकेटले पराजित गर्दै सांग्रिला क्रिकेट क्लब च्याम्पियन बनेको हो । लिग चरणमा अपराजित रहेको कास्कीलाई सांग्रिलाले फाईनलमा कप्तान विपिन खत्रीको अलराउण्ड प्रर्दशनमा सांग्रिलाले उपाधि आफनो नाममा लेखायो । लिगका शीर्ष दुईमा रहेको टोलीले फाईनल प्रतिस्पर्धा गर्ने क्रममा सांग्रिला र कास्की उपाधि प्रतिस्पर्धा गरेका थिए । ७ खेलमा सांग्रिलाले कुल १४ अंक बटुलेको छ भने एक खेल हारका साथ कास्की क्रिकेट क्लबले १२ अंक प्राप्त गर्न सफल रह्यो ।
जितका लागि ९४ रनको लक्ष्य पछ्याएको सांग्रिलाले विपिन खत्रीले ४९ रनमा अविजित रहँदै जित सुनिश्चित बनाए । उनले ४१ बलमा ५ चौका र १ छक्का हिर्काए । सांग्रिलाको पनि शुरुवाती राम्रो रहेन् । तीन रन जोड्ने क्रममा पहिलो विकेट गुमाउन पुग्यो । सिब्रिन श्रेष्ठ केवल १ रन बनाई खेल्ने क्रममा नितेश गिरीको बलमा विष्णुप्रसाद शर्माबाट क्याच भए । विराट दुवाडीले १८ रन बनाए । उनले २३ बल खेले । अरुण अधिकारी १० रनमा नटआउट रहँदै सांग्रिलाले १६ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै च्याम्पियन बन्यो ।
यता टस हारेर व्याटिङ गरेको कास्कीले शून्य रनमै पहिलो विकेट गुमायो । ओपनर सोहेल कुँवर विपिन खत्रीको बलमा दुई बलमै आउट भएपछि कास्कीको विकेट पतन शुरु भएको थियो । तेस्रो नम्बरमा आएका रोहित चन्द पनि विपिन खत्रीकै बलमा शून्यमै पेभिलियन फर्किए । भरपर्दा व्याटर अर्जुन कुमालले भने ३३ रन बनाए । उनले २८ बल खेल्ने क्रममा तीन चौका र १ छक्का प्रहार गरेका थिए । कुमाल राज परियारको बलमा अर्जुन अधिकारीबाट क्याच आउट भए ।
त्यसपछिका व्याटरले खासै रन बटुलेनन् । २० ओभर नै खेल्ने क्रममा कास्कीले ९ विकेटको क्षतिमा ९३ रनको सामान्य योगफल तयार पार्यो । विपिन खत्रीले ४ ओभरमा १ मेडन राख्दै १२ रन दिएर दुई विकेट लिए । त्यस्तै राज परियारले ३ विकेट लिने क्रममा ३० रन खर्चिए ।
राउण्ड रोविनको आधारमा १५ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पोखरा क्रिकेट क्लबका सुवास भण्डारी प्लेयर अफ दि टुर्नामेन्ट बने । ७ म्याचमा ६ इनिङ खेलेका सुवासले ७४ को औसतमा कुल २७० रन बनाए । राष्ट्रिय टोलीका सदस्य समेत रहेका उनले कुल इनिङमा ३१ चौका र १७ छक्का प्रहार गर्दै ५ अर्धशतकसहित ८७ सर्वाधिक रन समेत जोडे । सुवासले बेष्ट व्याटर संगै बेष्ट बलरको उपाधि समेत जिते । फाईनल खेलमा प्लयेर अफ दि म्याचको पुरस्कार विपिन खत्रीले पाए ।
विजेता र उपविजेता क्लबका खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य ऋषिराम गौतम, प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सन्जयकान्त सिग्देल लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
