
पोखरा स्पोर्टस । पोखरा रंगशाला निर्माण सम्पन्न भएको २० वर्ष पछि तत्कालिन निर्माण समितिलाई सम्मान गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल भूतपूर्व खेलाडी मञ्च र बगर भाइखलक पोखराले सोमबार संयूक्त रुपमा आयोजना गरेको सम्मान तथा रकम हस्तान्तरण कार्यक्रममा उनीहरु सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा पर्खाल निर्माण समिति यूकेका संयोजक सूर्य गुरूङ, कोषाध्यक्ष डा.जित गुरूङ, सहकोषाध्यक्ष मुछेत्र गुरूङ तथा संस्थागत रुपमा तमु धिं यूकेलाई प्रदेश खेलकुद परिषद र नेपाल भूतपूर्व खेलाडी मञ्चले सम्मान गरेको हो ।
त्यसै गरी निर्माण समितिका अध्यक्ष प्रा.डा.विरेन्द्र सिंह गुरूङ, तत्कालिन निर्माण समितिका उपाध्यक्षद्वय शिव शंकर रञ्जित र इन्द्र बहादुर गरूङ, सचिब तेज बहादुर गुरूङ, तत्कालिन सहारा क्लबका अध्यक्ष तथा निर्माण समितिका कोषाध्यक्ष बसन्त थकाली र सदस्य खेम बहादुर गुरूङलाई परिषदले सम्मान गरेको हो । निर्माण समितिका उपाध्यक्ष द्वय रञ्जित र गुरूङलाई मरोणपरान्त सम्मान गरिएको थियो भने निर्माण कम्पनी अशेष निर्माण सेवाका ऋषीराम गौतमलाई समेत निर्माण सम्पन्न गर्न खेलेको महत्वपूर्ण भूमिकाका लागि सम्मान गरिएको थियो ।
नागरिक समाजको अगुवाई निर्मित उक्त पर्खाल ‘चिनको ग्रेटवाल’को उपमा समेत पाएको छ । पोखरा १० स्थित पोखरा रंगशालाको ४१५ रोपनी जग्गालाई २०६१ सालमा नेपाल भूतपूर्व खेलाडी मञ्चको अगुवाईमा निर्माण समिति गठन भई करिव १ करोडको लागतमा निर्माण सम्पन्न गरी संरक्षण र सम्वद्र्धन गरिएको हो । सो पर्खाल निर्माण सम्पन्न संगै रंगशालामा रहेका ६ वटा गेटहरु समेत बेलायतलगायतका देशहरुबाट विभिन्न महानुभावहरुले रकम संकलन गरेका थिए ।
सो अवसरमा आफ्ना भनाई राख्दै पोखरा महागर पालिकाका मेयर धनराज आचार्यले २० वर्ष पछि सरकारले नागरिक समाजको उत्कृष्ट कार्यलाई सम्झेर सम्मान गर्नु महत्वपूर्ण रहेको जनाउँदै परिषदलाई आभार व्यक्त गरे । उनले भने–“यो एक महत्वपूर्ण कार्य थियो । यहाँहरुलाई राजयले २० वर्ष पछि सम्झियो । यो कार्यका लागि परिषद आभारी छ ।”
मेयर आचार्यले पोखरा खेलकुद संगै विभिन्न कृयाकलापका लागि समेत महत्वपूर्ण शहरको रुपमा स्थापित भइसकेको बताउँदै अबको केही दिनमा पोखरा पर्यटन भ्रमण वर्षको घोषणाको तयारी समेत भइरहेको जनाए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदको विकासमा गैरआवाशिय नेपालीहरुको भूमिका महत्वपूर्ण रहेको जनाए । उनले पोखरा रंगशालाको संरक्षण गरी संरक्षण र सम्वद्र्धनमा खेलेको भूमिका नेपाली खेलकुदका लागि अवस्मिरणिय रहेको बताउँदै परिषदले सम्मान गरेको बताए । उनले अब खेलकुदमा सहयोग र सहकार्य गर्नेहरुको भूमिकालाई स्थापित गर्न कार्यविधि नै तयार गरी प्रदेश खेलकुद पदकबाट सम्मान गर्ने अभियानलाई समेत अघि बढाइने बताए ।
