आहा ! रारा पोखरा गोल्डकप : तयारी पुरा, फाउल खेले नगद जरिवाना !

पोखरा स्पोर्टस । २४ औं आहा ! रारा पोखरा गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ ।

पोखरा रंगशालामा यहि माघ २२ गतेबाट सुरू हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक सहारा क्लबले जनाएको हो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्देश्यका साथ आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता फागुन ३ गते सम्म सञ्चालन हुनेछ ।

फाउल खेले नगद जरिवाना
२४ औं आहा रारा पोखरा गोल्डकपमा पहिलो पटक फाउल खेल्ने खेलाडी वा अफिसियलहरुले फाउल खेले बापत नगद जरिवाना तिर्नु पर्ने प्रावधान अघि सारेको छ । आयोजकका अनुसार प्रत्येक पहेलो कार्डको रू १ हजार, दोहोरो पहेलो कार्ड (रातो कार्ड)को रू २ हजार तथा सिधै रातो कार्ड पाएमा रू ३ हजार जरीवाना शुल्क बुझाउनु पर्नेछ

प्रतियोगितामा ३ विदेशी टिमहरु, ८ ए डिभिजनका क्लबहरु, र आयोजक सहारा क्लब पोखराको टिम गरि १२ टिमको सहभागीता हुनेछ । समूह ‘ए’ तर्फ आयोजकसहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् । तीमध्ये यूके र आर्मीले सिधैँ क्रमशः पहिलो र तेस्रो क्वाटरफाइनल खेल्ने छन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड, संकटा, थ्रिस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । तीमध्ये थिस्टार र उजेकिस्तानले सिधैँ क्रमशः दोस्रो र चौथो क्वाटरफाइनल खेल्ने छन् ।

गत २३औं सस्करणको बिजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपबिजेता थ्री स्टार क्लब ललितपुर रहेको थियो ।

विजेतालाई नगद पुरस्कार रु १२ लाख १ हजार र उपविजेतालाई रु ६ लाख १ हजार नगद प्रदान गरिनेछ ।

प्रतियोगितालाई पहिलो संस्करण देखि नै मुख्य प्रायोजकको रुपमा मोफसलको प्रतिष्ठित व्यापारीक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि.को उत्पादन रारा तयारी चाउचाउले गरेको छ ।

कुल अनुमानित आम्दानी १ करोड ५१ लाख रुपैया रहेको प्रतियोगितामा अनुमानित खर्च रू १ करोड ४२ लाख २० हजार रुपैयाँ रहेको जनाइएको छ ।

आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करणमा प्रि क्वाटर र क्वाटर फाइनल खेलमा रु १ सय र भि.आइ.पीतर्फ २ सय तथा सेमीफाइनल खेलमा रु २ सय र भि.आई.पी.तर्फ रु ४ सय र फाइनल खेलको रु ३ सय र भि.आई.पिर्फ रु ५ सय टिकेट दर कायम गरिएको सहाराले जनाएको छ ।

२४ वर्ष देखि निरन्तर सञ्चालनमा भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित कठिन परिस्थिति एबं विपन्न वर्गका वालकहरु सम्मेलित सूर्य बहादुर के.सी.स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।

विगत २०६१ साल देखि आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । हाल चौँथो व्याचको एकेडेमीमा १६ जिल्लाका ३० जना बालकहरु आश्रित छन । उक्त एकेडेमीको संञ्चालनको मुख्य स्रोत नै यस प्रतियोगिता रहेको क्लबले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close