
पोखरा स्पोर्टस । पोखरामा आइतबार सम्पन्न प्रथम भेट्रान्स बास्केटबल प्रतियोगितामा ठमेल–२६ काठमाण्डौ च्याम्पियन भएको छ ।निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा ठमेलले रातो बंगला भेट्रान्स ललितपुरलाई ५८–५० स्कोरले पराजित गर्दै च्याम्पियन बनेको हो ।

च्याम्पियन भए संगै ठमेलले नगद ७० हजार र उपविजेता बनेको रातो बंगलाले नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा ठमेल–२६ का कर्मा गुरुङ हाइएष्ट स्कोरर बन्दै सामसुङ मोबाइल हात पार्न सफल भए भने मस्ट भेलुएबल प्लेयर सोही टिमका विपिन महर्जन बने । उनले नगद १० हजार प्राप्त गरे ।
समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नागरिकहरुले दवाब दिनुपर्ने कुरामा जोड दिएका छन् । खेलकुदमा लगानी गरेमा मात्रै नागरिकको मुहारमा हाँसो ल्याउन सकिने बताउँदै उनले भने–“विकासको गति कहिं कतैबाट जनताका बिच पुग्छ भने त्यो खेलकुद नै हो । हामी सबै मिलेर सरकारलाई यो विषयमा सहकार्य गर्दै खवरदारी गर्न आवश्यक छ । जनताको प्रतिनिधिको हिसावले म आफू त्यसको नेतृत्व लिन तयार छु ।”
सो अवसरमा सांसद बराल, हरिनाश गाउँ पालिकाका अध्यक्ष खेम नारायण मानन्धर, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मा, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङलगायतले नगद, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कास्की भेट्रान्स बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा कास्की, तनहुँ र काठमाण्डौका गरी १० टिमको सहभागिता रहेको थियो ।
