
पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको अध्यक्ष राज कुमार गुरुङ (राजु) सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।
संघको शनिबार पोखरामा सम्पन्न १० औं साधारण सभा तथा पाँचौ अधिबेशनले उनी सहित ९ सदस्यिय कार्यसमिति सवैसम्मत निर्वाचित गरेको हो । यस अघि प्रथम उपाध्यक्षको भूमिकामा रहेका नवनिर्वाचित अध्यक्ष गुरुङले आफूले कास्की टेनिसको विकासका लागि लगनशिल रुपमा सबै संग सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यसमितिको समितिको प्रथम उपाध्यक्षमा गिताराज चालिसे (नविन), द्वितीय उपाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा भीष्मराज पौडेल तथा कोषाध्यक्षमा विष्णुबहादुर थापा निर्विरोध चयन भए ।
त्यस्तै कार्यसमितिको सदस्यमा महादेव भण्डारी, प्रदिप खड्का, प्रकाशराज वाग्ले र माधव भण्डारी सर्वसम्मत निर्वाचित भए । कार्यसमितिको सदस्यमा निर्वाचित खड्का नेपाल नं १ टेनिस खेलाडी समेत हुन् ।
यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री एवं सांसद राजिव गुरुङले गरेका थिए । उनले निर्वाचित संघका पदाधिकारी तथा सदस्यहरुलाई माला लगाएर कार्यसफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्न आग्रह गर्दै यति बेला गण्डकी प्रदेशको काँधमा नवौ राष्ट्रिय खेलकुदको शाखलाई जोगाउन सबैको भूमिका उत्तिकै अपरिहार्य रहेको उल्लेख गरे । परिषदले प्रदेश र जिल्लाका सबै खेल संघहरुलाई सुशासान तर्फ अघि बढाउन अनिवार्य साधारण सभा गर्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको जनाए ।
सो अवसरमा नेपाल टेनिस संघका उपाध्यक्ष एवं कास्की टेनिसका संस्थापक समेत रहेका बिनोद कायस्थले कास्की टेनिसको स्वर्णिम इतिहासलाई जोगाउँदै अघि बढ्न नवनिर्वाचित कार्यसमितिले पहल गर्न सक्षम रहनेमा विश्वास व्यक्त गर्दै यूवा खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्ने जनाए । कास्की टेनिसले इमान्दारीताको पक्षलाई सवल रुपमा स्थापित गरकोले पनि सबैको मन जित्न सफल भएको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यबाहक अध्यक्ष केशव बहादुर थापा, संघका सल्लाहकार गोपी बहादुर भट्टराई, कास्की टेनिसका उपाध्यक्ष गिताराज चालिसे (नविन)ले पोखराको टेनिसले खेल पर्यटनको रुपमा विकासमा उदाहरणिय कार्य गरेको तर्फ इगिंत गर्दै यस तर्फ राज्यको ध्यान संगै सहकार्यका लागि पहल गर्नु पर्ने जनाए ।
साधारण सभामा सचिव नविन श्रेष्ठले आगामी कार्य योजना सहितको प्रतिवेदन र कोषाध्यक्ष अनुज कुमार बास्तोलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघको १० औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न गर्न संघका पूर्व अध्यक्ष दोर्जे लामाको संयोजकत्वमा तीन सदस्यिय निर्वाचन समिति गठन गरिएको थियो । समितिको सदस्यमा सल्लाहकार गोपी बहादुर भट्टराई र अधिवक्ता विष्णु प्रसाद अधिकारी रहेका थिए ।
उक्त साधारण सभा संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गर्दै संघ र टेनिस खेलको विकासका लागि आफू सदैव सिपाहीको रुपमा उभिने प्रतिवद्धता व्यक्त गरे ।
