पोखरामा शनिबारदेखि ‘थ्री भर्सेस थ्री’ स्ट्रीट फुटबल विश्वकपको छनोट

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय स्ट्रीट फुटबल महासंघको आयोजनामा आगामी नोभेम्बरमा उत्तर पूर्वी यूरोपको लेटभियामा ‘थ्री भर्सेस थ्री’ विश्वकप हुँदैछ । नेपालबाट त्यही प्रतियोगिता खेल्ने टिम छनोट गर्न पोखरामा गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिता हुने भएको छ ।

पोखरामा शनिबार र आइतबार गरी दुई दिने ‘थ्री भर्सेस थ्री’ आइ.एस.एफ.ए वल्र्डकपको छनोट खेल हुने भएको हो । पोखरामा हुने यो प्रतियोगिताका उत्कृष्ट चार टिमले काठमाडौंमा हुने राष्ट्रिय छनोट खेल्न पाउने पोखराको छनोटको जिम्मा पाएको पोखरा स्पोर्टस् इभेन्टका सीइओ मनिष वस्थाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा २८ वटाभन्दा बढी टिम सहभागी हुने अनुमान छ । उत्कृष्ट ४ टिमले राष्ट्रिय छनोट खेल्ने अवसर र त्यसमध्येका २ टिमले नगद पुरस्कार पाउने छन् । विजेता टिमले ५० हजार रूपैयाँ र उपविजेताले ३० हजार रूपैयाँ पुरस्कार पाउने इभेन्ट म्यानेजर राजेश पोखरेलले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ५/५ हजार रूपैयाँ पुरस्कार पाउने उनले बताए । ‘छनोट भएकाले पुरस्कार किन राखियो भन्ने पनि धेरैलाई लाग्ला । यो खेल नयाँ हो । यसमा आकर्षण बढाउन र निशुल्क खेल्नुपर्ने र आफ्नै खर्चमा खेल्न जाने परिस्थिति अन्त्य गर्न पुरस्कार राखेका हौँ,’ पोखरेलले भने । पोखराबाट छनोट हुने टिमको काठमाडौंमा हुने बस्ने–खाने खर्च पोखरा स्पोर्टस् इभेन्टले व्यहोर्ने छ ।

काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्जलगायत सहरबाट राष्ट्रिय छनोट खेल्ने टिममध्ये तीन वटा टिम अन्तिम छनोटमा पुग्ने छन् । त्यसमध्ये सर्वोत्कृष्ट एउटा टिमले आगामी नोभेम्बर १ र २ मा लेटभियामा हुने विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने छ । ‘फुटबलमा नेपालले विश्वकप खेल्ने टाढाको कुरा हो । थ्री भर्सेस थ्रीमा खेल्नु र त्यसमा जित्यो भने निकै गर्वको विषय हुन्छ,’ पोखरेलले भने, ‘विश्वकप भएकाले राज्यले नै अभिभावकत्प लिनुपर्ने तर नगरेपछि खेलप्रेमीले नै गर्ने निधो गरेका हौं ।’

पहिलोपटक विश्वकप हुन लागेकाले निजी कम्पनीले चासो दिएको तर भविष्यमा राज्यले नै सक्रियता देखाउँदा राम्रो हुने पोखरा स्पोर्टस् इभेन्टका सीइओ मनिष वस्थाले बताए । निजी क्षेत्रले विश्व कपमा प्रतिनिधित्व गर्ने टिम तयार गर्न लागे पनि अखिल नेपाल फुटबल संघसँग सहकार्य गरेको उनको भनाइ छ । ‘नेपालबाट छनोट हुने टिम एक महिना एन्फामै क्लोज क्याम्प बस्छ । भिसामा पनि एन्फाले सहयोग गर्ने कुरा भएको छ,’ उनले भने ।

पोखरा छनोटको पहिलो दिन शनिबार यो खेलका अन्तर्राष्ट्रिय नियमबारे जानकारी गराइने र दोस्रो दिन आइतबार सबै खेल हुने आयोजकले जनाएको छ । पोखरामा हुने छनोट खेलमा ८ लाख रूपैयाँ खर्च हुने अनुमान छ ।

के हो ‘थ्री भर्सेस थ्री’ स्ट्रीट फुटबल ?
यो दुवै टिममा ३/३ जना भएर खेल्ने फुटबल प्रतियोगिता हो । स्ट्रीट नाम भएपनि यो सडकमा खेलिने खेल भने होइन । सानो र साँघुरो ठाउँमा खेल्न सकिने मान्यताअनुसार यसलाई स्ट्रीट फुटबल भनिएको हो ।

यो खेलमा एउटा टिममा ४ जना खेलाडी हुन्छन् । एकपटकमा ३ जना मैदानमा खेल्छन् भने १ जना वैकल्पिक खेलाडी राखिन्छ । खेलाडी परिवर्तनमा कुनै बन्देज छैन अर्थात् जतिपटक पनि परिवर्तन गर्न पाइन्छ । यो खेल खेलिने मैदान १८ मिटर लम्बाइ (दुई गोल पोष्टको दूरी) र १५ मिटर चौडाइ (गोल पोष्टको एउटाबाट अर्को कुना)को हुन्छ । गोल पोष्ट १.२ मिटरको हुने भएकाले यसमा गोल रक्षक हुँदैनन् ।

खेल ८ मिनेट अवधिको हुन्छ । यसमा ४ नम्बर साइजको बल प्रयोग हुन्छ । फुटबलमा मैदान बाहिर बल गएमा ‘थ्रो–इन’ हुन्छ भने यसमा ‘किक इन’ हुन्छ । ‘किक इन’मा सिधै गोल भएमा त्यसले मान्यता पाउँदैन ।

नियम उल्लंघन सामान्य भएमा जुन टिमले फल गरेको हो त्यसको प्रतिस्पर्धी टिमले बल चलाउन पाउँछ । खेलको क्रममा जानी–जानी नियम उल्लंघन गरेमा वा जानीजानी बल हातले छोएमा खेलाडीले सुन्तला रंगको कार्ड पाउँछ । त्यसपछि खेलाडी एक मिनेट बाहिर बस्नुपर्छ । यदि प्रतिस्पर्धी टिमले एक मिनेट नसकिँदै गोल गरेमा ऊ मैदान छिर्न पाउँछ । खेलमा कुनै गम्भीर गल्ती गरेमा रेफ्रीले कालो कार्ड दिन सक्छन् । कालो कार्ड पाउने खेलाडी प्रतियोगिता नै खेल्न नपाउने गरेर बाहिर बस्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close