
पोखरा स्पोर्टस । नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद (राखेप)को रिक्त उपाध्यक्ष पदमा देवेन्द्र कुमार शेरचनको एकल सिफारिस गरेको छ ।
संघको सम्पन्न बैठकले सर्वसम्मत रुपमा शेरचनको नाम सिफारिस गरेको हो । संघका अध्यक्ष समेत रहेका शेरचन विगत लामो समय देखि संघको नेतृत्वमा छन् ।
उपाध्यक्षको दौडमा रहेका शेरचनले आफू उक्त पदको लागि योग्य रहेको बताउँदै आएका छन् । संघका अध्यक्ष शेरचनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भएका अनियमितताका बारेमा समेत पटक–पटक आवाज उठाउँदै आएका छन् । आफू खेलकुदको विकास, खेलाडीहरुको हित र खेलकुदमा सुशासनको पक्षधर रहेको बताए ।
प्रदेश ह्याण्डबल संघमा समेत आवद्ध रहेका कास्कीका शेरचन संगै कानुन चौधरी र एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको नाम समेत यूवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी दबावमा रहेको बताइन्छ ।
लोकतान्त्रिक खेलकुद संघको तीन दिन अघि सम्पन्न बैठकले सर्वसम्मत रुपमा शेरचनलाई राखेपको उपाध्यक्षमा अघि सारे पनि नेपाली काँग्रेसले कसलाई पठाउने भन्ने आधिकारिक धारणा अघि सारेको भने छैन । पार्टि निकट भातृ संस्थाले शेरचनको नाम एकल रुपमा सारे पछि शेरचनको नाम नै मन्त्रीपरिषदमा सिफारिस हुनेमा संघका पदाधिकारीहरु विश्वस्त छन् ।
खेलकुद मन्त्री चौधरीले यस अघि मन्त्री परिषदको बैठकमा राखेपको रिक्त उपाध्यक्ष पदमा मनोनयनका लागि एक जनाको नाम सिफारिस गरेका थिए । तर बैठकले उक्त प्रस्ताव फिर्ता गरेको जनाइएको छ ।
राखेपमा सदस्यहरु सहित अन्य पदहरु पनि निकट समयमा नै रिक्त हुने भएकोले मन्त्रालयलाई सबैको नाम एकमुष्ट रुपमा सिफारिस गर्न भनिएको छ । यस अघि राखेपको उपाध्यक्षमा माओबादी निकट शिव कोइराला रहेका थिए । २०७७ साउन १२ गते मनोनयन भएका उनी ४ वर्षे कार्यकाल पुरा गरी अवकाश पाइसकेका छन् ।
