पोखरा स्पोर्टस अवार्ड : वर्ष महिला खेलाडी–अनुस्का, अरुणा र सुस्मीताको चर्चा संगै दह्रो प्रतिष्पर्धा

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ । यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ । वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मीता थापामगर पर्न सफल भएका छन् । तीनै जना खेलाडी वर्ष २०८० मा पाएका उपलब्धिको आधारमा मनोनयनमा परेका हुन् । सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् ।

अनुस्का शेरचन (आर्चरी)
अनुस्का उमेरले बल्ल १७ वर्षकी पुगिन् । ११ वर्षको उमेरदेखी आर्चरीमा प्रवेश गरेकी उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि भइन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत पदक हासिल गरेकी अनुस्का आर्चरीको भविष्य हुन । सानै उमेरमा उदायकी उनले आर्चराीबाट नेपाललाई ठूलै पदक दिलाउने आशा गर्न सकिन्छ । आर्चरीप्रति इच्छा जाहेर गरेपछि परिवारले उनलाई समर्थन गर्दै प्रशिक्षणमै व्यस्त गराएका छन् ।

२०८० मा अनुस्काले इराकको बागदादमा भएको एसिया आर्चरी कपमा सहभागि भई दोस्रो चरणसम्म प्रवेश गर्न सफल भइन् । उनको ०८० को मुख्य उपलब्धि भनेको पोखरामा सम्पन्न ११ औं राष्ट्रिय च्याम्पियनसिपमा व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण र मिक्स टिममा स्वर्ण पदक हो ।

अरुणा शाही (भलिबल)
म्याग्दी जिल्ला हालको रघुगँगा गाउँपालिकाकी अरुणा शाही नेपाली महिला राष्ट्रिय टिमको कप्तान हुन् । मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् ।

अरुणाले राष्ट्रिय टोलीमा डेब्यु गरेको पाँच वर्षपछि अर्थात सन् २०१९ मा राष्ट्रिय टोलीको कप्तानमा नियुक्त भइन् । नेपाली टोलीको कप्तानी सम्हाल्दै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई ऐतिहासिक पदक समेत दिलाउन सफल भइसकेकी छिन् ।

अरुणाको कप्तानीमा नेपालले सन् २०१९ मा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्दै २० बर्षपछि अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । उनकै कप्तानीमा रहेको टोलीले २०८० सालमा चीनमा भएको १९ औं एसियाडमा पहिलो पटक सहभागिता जनायो । ०८० मै सम्पन्न काभा कपमा कास्य पदक जित्न सफल भयो ।

२०८० मा यी दुई प्रतियोगितासँगै अरुणाले राष्ट्रियस्तरको एनभीए कप भलिबलमा एभरेष्ट क्लबको प्रतिनिधित्व गर्दै च्याम्पियन बनाउन भूमिका खेलिन् । उनको कप्तानीमा गण्डकी प्रदेशको टोलीले टाइगरकप, अन्तर प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा रजत र पाल्पामा भएको महिला राष्ट्रिय भलिबल प्रतियोगिता सहभागी भएको थियो ।

सुस्मीता थापामगर (आइटीएफ तेक्वान्दो)
वि.स. २०६० सालमा बागलुङको बडिगाड गाउँपालिका वडा नं १० को साधारण परिवारमा जन्मिएकी सुस्मीता थापामगर आएटीएफ तेक्वान्दोकी खेलाडी हुन् । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै आइरहेकी सुस्मीताले छोटो समयमै उचाई हासिल गरिसकेकी छिन् ।

कक्षा ६ मा पढ्दा भलिवल खेलेकी उनी विद्यालयस्तरमा प्रतियोगिताहरुमा भाग लिई विभिन्न पदक जितेपनि २०७४ कार्तिकमा उनी पढ्दै गरेको श्री भानु निम्न माध्यामिक विद्यालयमा रवीन्द्र बुढामगरले आईटीएफ तेक्वान्दो डोजाङ सञ्चालन गरे पछि तेक्वान्दो तर्फ आकर्षित भइन् । २०७४ मंसिर १६ गते देखि उनले औपचारिक रुपमा गुरुबाट आईटीएफ तेक्वान्दो सिक्न सुरु गरिन्,जुनबेला उनी कक्षा ८ मा पढ्थिन् । छोटो समयमै निगलापनी आईटीएफ तेक्वान्दो डोजाङकै उत्कृष्ट खेलाडी बनेकी उनले आठाँै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक हासिल गरिन् । उनले १ स्वर्ण र २ रजत पदक जितेकी थिईन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीलाई २ वटा पदक दिलाउन सफल रहिन् । उनले एक स्वर्ण र एक रजत पदक हासिल गरिन् ।

२०८० सालमा उनी खर्च जुटाएरै काजकिस्तानमा भएको २२ औं वर्ल्ड आइटीएफ च्याम्पियनसिपमा सहभागि भइन् । ११ औं नेसनल जेनेरल चोइ आइटीएफ तेक्वान्दो डो च्याम्पियनसिप एकलतर्फ १ स्वर्ण, टिम प्यार्टन १ स्वर्ण, व्यक्तिगत १ कास्य हासिल गरिन् भने ८ औँ नेसनल प्रोफेसनल तेक्वान्दो आईटीएफ च्याम्पियनसिप व्यक्तिगततर्फ १ स्वर्ण प्राप्त गरिन् ।

अवार्ड कार्यक्रममा वर्ष खेलाडी महिला सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।

प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close