
केशव पाठक/पोखरा स्पोर्टस । काली गण्डकीलाई सहाशिक खेलकुदको गन्तब्य बनाउन प्रदेश खेलकुद परिषद गण्डकीले तयारी सुरु गरे संगै नेपालको सहाशिक खेल पर्यटनमा नयाँ आयाम थपिने भएको छ ।

परिषदको एक अध्ययन टोलीले गरेको निस्कर्ष अनुसार काली गण्डकीमा र्याफटिङको प्रतियोगिता गर्न उत्कृष्ट हुने ठहर गरेको हो । परिषदका सदस्य एवै सहाशिक खेलकुदका संयोजक बसन्तराज दवाडी, र्याफटिङका राष्ट्रिय मुख्य प्रशिक्षक निम बहादुर मगर, परिषदका कार्यालय प्रमुख तोपलाल भुसाललगायतको टोलीले काली गण्डकीमा र्याफटिङको अध्ययन सम्पन्न गरेको हो ।
सो अध्ययन संगै परिषदले यहि माघ २८ गते देखि फागुन १ गते सम्म काली गण्डकीमा राष्ट्रियस्तरको प्रतियोगिताको समेत तयारी सुरु गरेको परिषद सदस्य दवाडीले जनाए । काली गण्डकीमा उक्त प्रतियोगिता पहिलो पटक हुन लागेको हो । यस भन्दा अघि मनोरन्जनका लागि र्याफटिङ गरिए पनि वाटर स्पोर्टसको इतिहासमा काली गण्डकीमा पहिलो पटक यो खेल आयोजना हुनुले पनि सम्भावनाको ढोका खुलेको उनले बताए ।
धार्मिक परम्परा समेत विशिष्ट रुपमा मानिदैं आएको काली गण्डकीलाई स्पोर्टसको हव बनाउन परिषदले सुरु गरेको अभियान सकरात्मक रहेको मुख्य प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी निम बहादुरले बताए । “यो सर्हानिय पक्ष हो । देशका नदी नालाहरु विद्युतीकरण संगै जल खेलकुद मारमा परेको अवस्थामा काली गण्डकीमा यसको सुरुवात हुनुले पनि खेलाडीहरुमा उत्साह जाग्ने छ”, उनले भने–“नदीहरु कब्जामा पर्दै गएका छन् । हाम्रा खेलाडी पलायन भएका छन् । यस्तो अवस्थामा नयाँ विषयको सुरुवात भएको छ । यसले उत्साह आउनु स्वभाविक हो ।”
काली गण्डकीमा अध्ययन संगै अब विदेशी खेलाडीहरुको समेत आकर्षण बन्न सक्ने परिषद सदस्य दवाडी बताउँछन् । उनी भन्छन्–“खेलकुदका लागि आउने पर्यटकको बसाई अन्य पर्यटकको भन्दा लामो हुन्छ । उनीहरु खर्च गर्न पछि पनि पर्दैनन् । यदि हाम्रो मुलुकको मुख्य आधार पर्यटन हो भने अब नयाँ विषयको खोजी हुन आवश्यक छ । जसका लागि काली गण्डकीलाई वाटर स्पोर्टसको हव बनाउनु पनि हो ।”
माघ २८ गते सुरु हुने राष्ट्रिय र्याफटिङमा विश्व र्याफटिङ संघले आगामी जुन/जुलाई बोस्नीया हर्जगोभिनामा आयोजना हुने प्रतियोगिताका लागि खेलाडी छनौट समेत गर्ने तयारी गरिएको निम बहादुरले बताए । “हामीले छनौट खेलका लागि पनि यो प्रतियोगितालाई आधार मानेका छौं,” उनले भने–“यहाँ छनौट भएका खेलाडीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुनेछन् । त्यसैले पनि यो प्रतियोगिता महत्वपूर्ण छ । ”
दुई दिन सम्म लगाएर गरिएको अध्ययनमा म्याग्दीको जलजलाबाट प्रतियोगिता सुरु गरी पर्वत कुश्मा वडा नं २ सहर्षधारामा पुगेर सम्पन्न हुनेछ । जसको कुल दुरी १५ किमि रहेको अध्ययन टोलीले जनाएको छ ।
सोही प्रतियोगितामा कायाक सालोलुम कानुको समेत प्रतिस्पर्धा र छनौट हुनेछ । र्याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता हुने जनाईएको छ । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता हुने आयोजकको भनाई छ ।
गण्डकी प्रदेशमा र्याफटिङ र कायाक सालोलुम कानुको खेलको हव बनाउन अपर सेती, काली गण्डकी र मर्स्याङदी उपयूक्त रहेको मुख्य प्रशिक्षक मगरले बताए । उनले भने–“अब हामीले प्रदेशलाई जल खेलको हव बनाउने हो भने यी तीन नदीहरुलाई जोगाउन आवश्यक छ । जसका कारण विश्वका खेलाडीहरुको ध्यान खिच्न प्रचार प्रसार संगै संरक्षणको उत्तिकै दायित्व बोध सरकार हो ।”
परिषदका कार्यालय प्रमुख भुसालका अनुसार काली गण्डकीमा गरिएको परिक्षण र अध्ययनमा ६ जना राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहेको थियो । जसमा डम्वर बहादुर पूर्वाछाने, विजय गुरुङ, शक्तिकुमार गुरुङ, सविन गुरुङ र शुक्र तामाङ रहेका थिए ।
