
पोखरा स्पोर्टस । ‘चौथो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ को प्रतियोगिताको संयोजकमा दिपक कार्की मनोनयन भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशाला भलिबल कोर्टमा माघ १ गते देखि ७ गते सम्म सञ्चालन हुने प्रतियोगिताको संयोजकमा कार्कीलाई सर्वसम्मतरुपमा चयन गरिएको संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिएका हुन् ।
प्रतियोगिताको संयोजकमा मनोनयन भएका कार्की समाजसेवी संगै सफल व्यवसायी हुन् । उनी पोखराको सिटिजन फर्निचर ट्रेड लिंकका अध्यक्ष समेत हुन् । “हामीले पोखराको युवा सफल व्यवसायी तथा समाजसेवी दिपकजीलाई संयोजकको जिम्मेवारी दिएका छौं,” उनले भने–“उहाँको नेतृत्वले चौथो टाइगर कप भब्य रुपमा सम्पन्न हुने विश्वास लिएको छु ।”

यसै गरी प्रतियोगिता सफल बनाउन टाइगर ग्रुपका अध्यक्ष शर्मासहितको टोलीले काठमाण्डौमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, स्याङजाका सफल व्यवसायी एवं समाजसेवी डोल बहादुर खडका, केल्मी नेपालका प्रबन्धक उत्तम न्यौपानेलगायत संग भेट गरी चौथो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित कलब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० भव्य र सभ्य रुपमा सम्पन्न गर्न सहयोगका लागि आग्रह गरेको छ ।
सो अवसरमा गण्डकी प्रदेशका सांसद तथा टाइगर ग्रुपका महासचिव प्रकाश बराल, उपाध्यक्ष देवेन्द्र केसी, सचिव डिबी नेपालीसहितको टोली रहेको संस्थाले जानकारी दिएको छ । “हामीले काठमाण्डौमा प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न विभिन्नि व्यक्तित्व तथा समाजसेवीहरुलाई भेट गरेका छौं । उहाँहरुले हामीलाई सफलताको शुभकामनासहित सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ,” शर्माले भने ।
टाइगर ग्रुपद्वारा स्वागत र बिदाई
यसै विच टाइगर ग्रुप अफ पोखराले नेपाल भलिबल संघका सदस्य राजकुमार गुरुङलाई पोखरामा स्वागत गरेको छ । ग्रुपका कार्यसमिति सदस्य समेत रहेका गुरुङ पोर्चुगलबाट आज पोखरा आइपुगेका छन् । त्यसै गरि अमेरिकालाई कर्मथलो बनाएका गल्कोट निवासी राम बहादुर क्षेत्रीलाई संस्थाको कार्यालयमा स्वागत गरिएको छ । खत्री प्रतियोगिताको सहयोगी समेत् हुन् । अध्यक्ष शर्मा सहित संस्थाको टोलीले उनीहरुलाई स्वागत गरेको थियो ।
त्यसै गरि टाइगर ग्रुप जापान शाखाका कोषाध्यक्ष एवं टाइगर ग्रुपका संस्थापक पृथ्वी खत्रीलाई बिदाई गरिएको छ । खत्री आफ्नो कर्मथलो जापान जान लागेका हुन् । उनलाई अध्यक्ष शर्माले सफल यात्राको शुभकामनासहित बिदाई गरिएको सचिव नेपालीले पोखरा स्पोर्टसलाई बताए ।
कार्यालय सचिवमा भण्डारी
संस्थाले प्रतियोगिता अवधीभरका लागि आशिषमान भण्डारीलाई कार्यालय सचिवको रुपमा नियुक्त गरेको अध्यक्ष शर्माले जानकारी दिए ।
श्रीलंका र भारतको सहभागिता पक्का
यसै विच चौथो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित कलब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० मा श्रीलंकाली सेनाको पुरुष टिम र भारतको एक अन्तर्राष्ट्रिय खेलाडी समाहित रहेको महिला क्लवले आफ्नो सहभागिताका लागि पक्का गरिसकेको अध्यक्ष शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरि कुल १२ टिमको सहभागिता हुने अध्यक्ष शर्माले बताए । नेपाल भलिबल संघको स्विकृतीमा आयोजना हुने उक्त प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, स्थानियतहका सरकारहरुलगायतको सहयोग र सहकार्य रहने छ ।
साथै उनले प्रतियोगिता सफल बनाउन देशविदेशमा रहेका सम्पूर्ण भलिबल प्रेमीहरुलाई सहयोगका लागि अपिल गरेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् ।
त्यसै गरि उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५५५ प्राप्त गर्नेछन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए ।

Go ahead Tiger Group