
पोखरा स्पोर्टस । मुख्यमन्त्री कप यु–१९ टि–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितको बिजेता टोली गण्डकी प्रदेशले दुई वर्ष हुन लाग्दा सम्म पुरस्कार वापतको रकम पाएको छैन ।
सुदुर पश्चिम प्रदेश सरकारको सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित उक्त प्रतियोगिताको उपाधि बिजेता टोलीले पुरस्कार वापतको नगद रु २ लाख अझै सम्म नपाएको हो । कैलालीको धनगढीमा २०७८ चैत्र ६–११ गते सम्म उक्त प्रतियोगिता सम्पन्न भएको थियो । गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै उपाधि जिेतको थियो ।
प्रतियोगिता सम्पन्न भएको १७ महिना विति सक्दा समेत उपाधि रकम नपाउनुले आयोजकको गैर जिम्मेवारपन भएको बताउँदै निराशा व्यक्त गरेका छन् । “यो त सुप प्रदेश सरकार र मुख्यमन्त्री संग जोडिएको कार्यक्रम थियो । तर आयोजकले यसलाई गम्भिर रुपमा लिएन । उतिबेला नै हस्तान्तरण गर्नुपर्ने रकम १७ महिना सम्म नदिनु लज्जाको विषय हो” बिजेता टोलीका एक सदस्यले भने ।
सो बारे जानकारी दिंदै प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्सन प्रजुले पुरस्कार वापतको रकम अझै सम्म नपाएको गुनासो गरे । उनले भने–“हामीले यस विषयमा पटक–पटक पत्रचार समेत गरेका छौं तर पुरस्कारको रकम अझै हात परेको छैन ।”
प्रदेश सरकारकै मुख्यमन्त्री संग जोडेर क्यानले आयोजना गरेको प्रतियोगिताको पुरस्कारको रकम नपाउँदा खेलाडीहरु समेत निराश बनेका छन् ।
फायल तस्विर
