
पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय महिला भलिबल यहि असार १४ गते सुरु हुने भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । पोखरा रंगशालाको भलिबल प्रशिक्षण केन्द्रमा असार १६ गते सम्म सञ्चालन हुने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् ।
प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरु सहभागिता हुने गरी सबै जिल्लालाई पत्रचार गरिएको जानकारी दिंदै तयारी खर्च तथा खेल पोशाकका लागि हरेक जिल्लालाई नगद रु ४० का दरले वितरण गरिने प्रमुख भुसालले बताए ।
प्रतियोगितामा उपाधि बिजेता टिमलाई नगद १ लाख, उपविजेतालाई नगद ७० हजार र तृतिय हुनेलाई नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५/५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र दिइने छ ।
प्रतियोगिता सम्पन्न गर्न परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको संयोजकत्वमा एक समिति गठन गरिएको छ । प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग र व्यवस्थापनका लागि गण्डकी प्रदेश भलिबल संघलाई आग्रह गरिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न कुल २० लाख खर्च लाग्ने र सो रकम खेल्छ गण्डकी कार्यक्रम मार्फत खर्च गरिने भएको आयोजकले जनाएको छ ।
