
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि (एनओसी)को १४ औं विशेष साधारण सभा सम्पन्न भएको छ ।
एनओसीको १४ औं विशेष साधारण सभा बुधबार सम्पन्न भएको हो । साधारण सभाले एक मात्र एजेण्डा पारित गरेको महासचिव निलेन्द्रराज श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
“हाम्रो एक मात्र एजेण्डा थियो । त्यो के भने एनओसीको कार्यसमितिको समयावधि एक ओलम्पिक आयोजना देखि अर्को ओलम्पिकको समापन सम्म हुने गरी समयावधि थप गर्ने विषयमा हो” महासचिव श्रेष्ठले भने–“अब एनओसीको आगामी निर्वाचन पेरिस ओलम्पिकको समापन पछि तय हुने छ ।”
उक्त विषयलाई यस भन्दा अघिको कार्यसमितिको बैठकले पारित गरेको जानकारी दिंदै महासचिव श्रेष्ठले सोही बैठकको एजेण्डालाई विशेष साधारण सभाले पारित गरेको उनले बताए । “यो विषय टेक्निकल विषय थियो । जुन विषय पारित भयो यसले कार्यसमितिको पदावधि ५ देखि ६ महिना सम्म मात्रै लम्विने छ । जुन विषय नेपाल ओलम्पिकका लागि निकै महत्वपूर्ण समेत थियो” उनले भने ।
विशेष साधारण सभा लगतै एनओसीको कार्यसमितिको बैठक समेत बसि विभिन्न विषयमा छलफल गरेको एनओसीका उपाध्यक्ष तेज गुरुङले जानकारी दिए ।
१४ औं विशेष साधारण सभा र कार्यकारी समितिको बैठक एनओसीका अध्यक्ष एवं पूर्व मन्त्री जिवनराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
