
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले आइतबार कास्की माछापुच्छ्रेस्थित भिडाबारीमा निर्माण रोकीएको प्रस्तावित एन्फा एकेडेमी ड्रिम प्रोजेक्टको अवलोकन गरेका छन् ।

८५ करोडको लागतमा दुई वर्ष अघि २०७७ सालमा निर्माण कार्य सुरु गरिने भनिए पनि हाल सम्म शिलन्यास समेत हुन नसकेको हो । एक कार्यक्रमका लागि कास्कीको ल्वाङ पुगेको सदस्य सचिव घिसिङले भिंडावारी पुगेर अवलोकन गरे । एन्फाले दुई वर्ष अघि नै निर्माणका लागि आन्तरिक कार्य सके पनि निर्माण कार्य अघि बढन नसक्दा सदस्य सचिव घिसिङले चासो देखाएका हुन् ।
उनले अवलोकनका क्रममा उनले स्थानियहरु संग समेत् भेट गरी निर्माण रोकिएको बारे चासो व्यक्त गरे । उनले भने–“म यस बारे एकदमै चिन्तित छु । प्रस्तावित टेक्निकल सेन्टर रोकिनु राम्रो कदापी होइन । यस प्रकारका परियोजनाले नेपाली खेलकुदको विकासमा भूमिका खेल्छ ।”
सदस्य सचिव घिसिङले यस बारे काठमाण्डौ पुगेर एन्फा संग सोध्ने बताए । “एन्फालाई यसबारे सोध्ने र सजग गराउने कार्यमा मेरो चासो रहने छ । निर्माण कार्यलाई यथासिघ्र सुरु गराउन राखेपले पहल गर्नेमा म विश्वास दिलाउन चाहन्छु ,” उनले भने । उनले निर्माणकार्यमा देखिएका सबै समस्या हल गर्न राखेप तयार रहेको स्थानिय संग प्रतिवद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइराला समेत सहभागि थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०७६ सालमा दक्षिण एसियाकै नमुना टेक्निकल सेन्टर निर्माण गर्ने गरी निर्माण कार्यका लागि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) संग सम्झौता गरेको थियो । फिफाले नै उक्त स्थानमा टेक्निकल सेन्टर निर्माणका लागि अध्ययन टोली समेत पठाएको थियो भने मास्टर प्लान समेत तयार गरी ई–टेन्डर समेत गरिसकेको छ ।
एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले दुई वर्ष अघि नै उक्त ड्रिम प्रोजेक्टको निर्माण कार्य रोक्न केहीले नकारात्मक प्रचार गरिरहेको भन्दै असन्तुष्टि समेत जनाएका थिए ।
भिंडावारी ड्रिम प्रोजेक्ट बारे वर्तमान एन्फा नेतृत्व सकारात्मक नभएको विषय समेत उठ्दै आएको छ । यसबारे गाउँपालिकाले समेत एन्फालाई पटक–पटक सचेत गराएपनि निर्माण कार्य अघि बढ्न सकेको छैन । गाउँपालिकाले करिव ३ सय रोपनी भन्द वढि जग्गा समेत उपलव्ध गराइसकेको छ ।
