अन्तर्राष्ट्रिय खेलकुद दिवसमा मञ्च र पत्रकार विच मैत्रिपूर्ण फुटसल

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय खेलकुद दिवसमा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी विच मैत्रिपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

हरेक वर्ष अप्रिल ६ का दिन विश्वभर मनाइने उक्त दिवस यस वर्ष नेपाल भूतपूर्व खेलाडी मञ्चले फुटसल प्रतियोगिता आयोजना गरी मनाएको हो । “शान्ती र विकासका लागि खेलकुद” भन्ने नाराका साथ विश्वभर आयोजना गरिने यो दिवसको महत्व छुट्टै रहेको मञ्चका कार्यबाहक अध्यक्ष दिल बहादुर गुरुङले बताए । “हामीले हरेक वर्ष यो दिवस मनाउँदै आएका छौं । खेलकुद मार्फत विश्वमा शान्ती र समृद्धि ल्याउन सकिन्छ भन्ने विषयलाई संयूक्त राष्ट्र संघले यो दिवसलाई विशेष पर्वको रुपमा महत्वका साथ मनाउँदै आएको छ,” उनले भने–“सोही सन्दर्भमा हामीले यस वर्ष पत्रकारहरु संग फुटसल प्रतियोगिता आयोजना गरेका हौं ।”

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले मञ्चले हरेक वर्ष दिवसलाई मनाउँदै आएकोमा आभार व्यक्त गर्दै यो दिवसको महत्वले विश्वमा शान्ती र भाइचारा फैलाउन सहयोग पुगेको बताए । उपाध्यक्ष गुरुङले रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

मैत्रीपूर्ण फुटसलमा फराकिलो अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको छ । शनिबार स्पोर्ट्स क्यासल गैह्रापाटनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र नेपाल भुतपूर्व खेलाडी मञ्चबिच भएको मैत्रिपूर्ण फुटसल खेल ८–८ गोलको बराबरीमा सकिएको हो ।

खेलकुद पत्रकार मञ्चले अध्यक्ष दीननाथ बरालको गोलबाट सुरुवाती अग्रता लिएको थियो । उपाध्यक्ष सुरज श्रेष्ठको पासमा बरालले गोल गरेका थिए । त्यसपछि भुतपूर्व खेलाडी मञ्चको पोष्टमा एकतर्फी ५ गोल गरेको पत्रकार मञ्चले यो फराकिलो अन्तरलाई जोगाउन सकेन । पत्रकार मञ्चका तर्फबाट उपाध्यक्ष सुरज श्रेष्ठले दुई गोल गरें । मन क्षेत्री, विसन क्षेत्री, जसकाजी गुरुङ, प्रविण मगरले पत्रकार मञ्चको तर्फबाट गोल थपे ।

भूतपूर्व खेलाडी मञ्चको तर्फबाट ओम बहादुर गुरुङले दुई गोल गरें । दिनेश कुमार श्रेष्ठ, विर बहादुुर गुरुङ, राम बहादुर गुरुङ, जगदीश गुरुङ, चिन बहादुर गुरुङ र बाबुराम पौडेलले समेत खेलाडी मञ्चबाट गोल थपेका थिए । सूरुवाती क्रममा पत्रकार मञ्च अगाडि निरिह देखिएको भूतपूर्व खेलाडी मञ्चले अन्तिम समयमा उत्कृष्ट पूनरागमन गरेको थियो ।

मञ्चका कार्यवाहक अध्यक्ष दीलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल र भूतपूर्व खेलाडी मञ्चका महासचिव कृष्ण तिमिल्सिना लगायतले बोलेका थिए ।

६ अप्रिलको दिनमा पर्ने यो दिवस शान्ती र विकास लागि अन्तराष्ट्रिय खेल दिवस भन्ने नाराका साथ साताव्यापी कार्यक्रम गरेर विश्वभर मनाइदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close