नेपाल ट्राइयाथलन सङ्घ गण्डकीको अध्यक्षमा सुमन देवकोटा

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्मा खेल सङ्घका रुपमा रहेको नेपाल ट्राइयाथलन सङ्घले प्रादेशिक तहमा सङ्घलाई विस्तार गरेको छ ।

ट्राइयाथलन खेलको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा खेलको विकास, विस्तार र देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्य सहित पहिलो पटक नेपाल ट्राइयाथलन सङ्घ गण्डकी प्रदेश समिति गठन गरिएको हो ।

जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्वअध्यक्ष समुन देवकोटाको अध्यक्षतामा गठन गरिएको समितिको उपाध्यक्षमा डिल्लीराज सुवेदी, सचिव विरेन शेरचन, सहसचिव अनिता रानाभाट र कोषाध्यक्षमा डिमबहादुर(देवेन्द्र) केसी चयन भएका छन् ।

यसैगरी समितिको सदस्यहरुमा कृष्ण दवाडी, प्रमिश ताम्राकार, धनन्जय वाग्ले, सविना महर्जन र उज्वल शर्मा रहेका छन् ।

नवगठित समितिका अध्यक्ष देवकोटाले गण्डकीमा ट्राइयाथलन खेलको विकास, विस्तार र नयाँ खेलाडी उत्पादन सहित प्राविधिक जनशक्ति उत्पादन गर्ने प्रतिवद्धता जनाए । उनले भने,“पोखरामा हरेक वर्ष ट्राइयाथलनको अन्तर्राष्ट्रिय प्रतियोगिता हुने गर्दछ तर प्राविधिक जनशक्ति, साधन स्रोत सबै केन्द्रबाट ल्याउनुपर्ने अवस्था छ । अब पोखरामै हरेक कुराले सम्पन्न हुने गरी काम गर्नेछौँ । खेलको विस्तारमा लाग्नेछौँ ।”

नेपाल ट्राइयाथलन सङ्घका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले देशको सङ्घीय संरचना र पछिल्लो पटक जारी गरिएको खेलकुद विकास ऐन अनुसार गठन गरिएको पहिलो प्रादेशिक समितिले आफ्नो काम प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

सुन्दर ताल तलैया र खेलका लागि आवश्यक पूर्वाधारका कारण पोखरा ट्राइयाथलन खेलको हब बन्न सक्ने प्रचुर सम्भावना रहेको औंल्याए ।श्रेष्ठले भने–,“ट्राइयाथलन विदेशमा समुन्द्रमा खेलिने गरिन्छ तर नेपालमा समुन्द्र नभएपनि फेवाताल, बेगनास जस्ता तालहरु भएकै कारण यहाँ प्रकृतिले समेत साथ दिएको छ । पोखरा ट्राइयाथलनको अन्तर्राष्ट्रिय गन्तव्य बन्न सक्ने धेरै सम्भावनाहरु देखिसकेका छन् ।”

सङ्घले पोखरामा वर्षेनी एशिया ट्राइयाथलन कप र साउथ एशियन ट्राइयाथलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । आगामी दिनमा यसको व्यवस्थापनका लागि गण्डकी सङ्घ सक्षम हुने विश्वास व्यक्त गर्दै श्रेष्ठले केन्द्रबाट आवश्यक सम्पूर्ण सहयोग उपलव्ध गराउने विश्वास व्यक्त गरे ।

नेपाल ट्राइयाथलन सङ्घका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइरालाले ओलम्पिक खेलका रुपमा रहेको ट्राइयाथलनको खेल विकासका लागि नियमित प्रतियोगिताको आवश्यकता औंल्याए ।

प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । जिल्ला खेलकुदमा सुमन देवकोटाले नेतृत्व लिँदा खेल क्षेत्रले कोल्टे फेरेको स्मरण गर्दै गण्डकी प्रदेशमा ट्राइयाथलन खेल विस्तारमा नवगठित समिति सक्षम हुने भनाई राखे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले पोखरा ट्रायथोलनका लागि देशकै हब बन्न सक्ने बताए ।

नवनिर्वाचित सङ्घलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपाली, गण्डकी प्रदेश भलिबल संघका कार्यबाहक अध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरे ।

नेपाल ट्राइयाथलन सङ्घले पोखरामा वर्षेनी एशिया ट्राइयाथलन कप र साउथ एशियन ट्राइयाथलन च्याम्पियनसिप आयोजना गर्दै आएको छ । यही चैत १८ र १९ गते यी दुबै प्रतियोगिताको तेस्रो संस्करण यहाँ सम्पन्न भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close