
पोखरा स्पोर्टस । शितल ज्योति कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ को उपाधिको लागि रत्न सेवा समाज र एल.जी एकता बिच फाइनल खेल हुने भएको छ ।
पोखराको अम्मरसिंह चौरको खेलमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा भद्रकाली एफ.सी.लाई रत्न सेवा समाजले ३—० को एकतर्फी फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो । खेलको १३ औं मिनेटमा समाजको लागि भद्रकालिकाका प्रविन गुरुङले सुसाइड गोलको उपहार दिए । क्लियर गर्न खोजेको बलले जाली चुमेसंगै समाजलाई जित सहज भयो । समाजका आइत तामाङ र सिमोन तामाङले एक÷एक गोलको योगदान दिए । खेलमा सिमोन म्यान अफ दी म्याच घोषित भए ।
त्यसै गरी अर्को खेलमा तारा एफ.सी.लाई एल.जी.एकताले १—० ले पराजित गरेको छ । एकताको खेलमा नायक बनेका प्रिन्स तुलाचनले निर्णायक गोल गर्दै म्यान अफ दी म्याच समेत घोषित भए ।
यही फाुगन २० गतेदेखी सञ्चालन भएको प्रतियोगिताको बिजेताले १ लाख ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएको छ । प्रतियोगितामा उपविजेताले ८५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएको छ ।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई माउण्टेन वाइक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजारको साथमा ट्रफी पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा २९ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक सन्तोष गुरुङले बताए ।
