
पोखरा स्पोर्टस । काभ्रेको धुलिखेलमा शुक्रबारबाट सुरु भएको दुई दिने स्पोर्ट लिडर्स समिट ९ बुँदे घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको छ ।
नेपालको खेलकुद विकासका लागि परिविर्तत अवस्थामा खेलकुदलाई अघि बढाउने विषयमा पहिलो पटक आयोजना भएको सम्मेलनले ९ बुँदे घोषणा–पत्र जारी गर्दै सम्पन्न भएको हो ।
यस्तो छ ९ बुँदे घोषणा पत्र
१. स्पोर्ट लिडर्स समिट धुलिखेल २०२३ को सम्मानीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल प्रचण्डज्युबाट समुदघाटन गरि खेलकुद जगतलाई उत्साहित बनाउनु भएकोमा सधन्यवाद ज्ञापन गर्दछ ।
२. खेलकुद विकास ऐनको व्यवस्था अनुसार खेलकुद संस्थाको स्वायत्तता (स्पोर्टस अटोनमी) को भावना अनुसार तीनै तहको सरकारको खेलकुद सम्बन्धी कानुन तथा नियमहरूलाई एकरूपता ल्याउन पहल गर्ने ।
३. ओलम्पिक अभियानलाई खेलकुदसंग सम्बन्धित सबै पक्षसंग समन्वय गरेर व्यापक बनाउने ।
४. खेलकुदको वर्गीकरण गरेर राष्ट्रिय प्राथमिकता निर्धारण गर्ने । प्रदेश र स्थानीय तहले पनि राष्ट्रिय प्राथमिकतको आधारमा आ–आप्mनो प्राथमिकता निर्धारण गरेर खेलकुदको समग्र विकास गर्ने ।
५. नेपाली खेलकुदमा लैगिक समानताका लागि पहल गर्ने तथा यौन उत्पीडन, खेलकुदमा हिंसा र सट्टेबाजी निरुत्साहित गर्ने नीति अपनाउने ।
६. खेलको प्राथमिकता अनुसार आधारभूत तहदेखि राष्ट्रियस्तरसम्मको खेलाडी, प्रशिक्षक र व्यवस्थापकको तालिम तथा स्तर उन्नतीको लागि माग गर्ने ।
७. संघीय, प्रदेश र स्थानीय स्तरका विभिन्न खेलका प्रकृति अनुसारका पूर्वाधार निर्माण गर्न तीनै तहका सरकारलाई माग गर्ने ।
८. खेलकुदको स्तर उन्नतिका लागि प्रदेश तथा केन्द्रमा खेलकुद प्रशिक्षण प्रतिष्ठान (स्पोर्टस एकेडेमी) स्थापना का साथै केन्द्रिय स्तरमा ओलम्पिक एकेडिमी स्थापनाका लागि सरकारलाई माग गर्ने ।
९. नेपाली खेलकुदलाई प्रतिबन्धित औषधी (डोपिङ) बाट मुक्त गर्न पहल गर्ने ।
समापन अवसरमा आफ्ना भनाई राख्दै नेपाल सरकारका पूर्व मन्त्री एवम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले नेपाली खेलकुदको विकासलाई अघि बढाउन सम्मेलन सार्थक भएको बताए । उनले सम्मेलनबाट उठेका विषयहरुलाई नितिगत रुपमा कार्यान्वयन गर्न ओलम्पिक कमिटिले अभियानका रुपमा अघि बढाउन सहकार्य र समन्वयका लागि पहल हुने उल्लेख गरे ।
दुई दिने सम्मदेलनमा सातवटा छुट्टा–छुट्टै विषयमा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा खेलकुद ऐन, खेलकुदको प्राथमिकता, खेल भौतिकपूर्वाधार, खेल प्रदर्शन र मनोविज्ञान, खेल सुरक्षा, ओलम्पिक अभियान, एन्टी डोपिङ र लैगिक समानताबारे गहन छलफल भएको र ति विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधीहरु र नेपाली खेलकुद संग आवद्ध विज्ञहरुले प्रस्तुती दिएका थिए ।
सम्मेलनमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको प्राथमिकता, लोकभक्त राणाले खेलकुद ऐन २०७८ र खेल कानुन, तिलोत्तमा कँडेल बस्यालले खेल भौतिकपूर्वाधार, इन्द्र गुरुङले खेलकुद र मनोविज्ञान तथा सरोजकृष्ण श्रेष्ठले खेल चिकित्सा र एन्टी डोपिङबारे कार्यपत्र पुस्तत गरेका थिए । यस्तै गोविनाथ सिभाराजाले खेलकुदमा सुरक्षा, युजनी लीले खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई चाहिने प्रशिक्षण तथा सेख हयात अल खालिफाले लैगिक समानताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कर्यक्रममा सातै प्रदेशका खेलकुद मन्त्रीहरु, प्रदेश खेलकुदका सदस्य सचिवहरु, खेलकुद विज्ञहरु, विभिन्न राष्ट्रिय खेलकुद संघका अध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषदका विभागिय प्रमुखहरु, पत्रकारहरुलगायत गरी १ सय भन्दा वढिको सहभागिता रहेको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।
