
पोखरा स्पोर्टस । पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले दोश्रो पटक जितेका छन् । नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार (आज) सम्पन्न १७ औं संस्करणको पोखरा म्याराथन (४२.१९५ किलोमिटर)को दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दै दोश्रो पटक जितेका हुन् । उपाधिसँगै स्टेफेने ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । उनले १६ औं संस्करणमा सोही दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए ।

केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरेका थिए । २ घण्टा २५ मिनेट १४ सेकण्डमा पुरा गर्दै नेपाल आर्मीका होमलाल श्रेष्ठ तृतीय हुँदा केन्याकै सिमोन किप्लागतले चौथों भए । उनलाई उक्त दुरी पुरा गर्न २ घण्टा २९ मिनेट ३५ सेकेण्ड लागेको थियो । उनीहरुले पुरस्कार स्वरुप क्रमश ३ लाख, २ लाख र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

यस्तै हाफ म्यारथन २१ (किलोमिटर)तर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भइन् । उनले किलोमिटरको निर्धारित दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् । एपिएफकी बृन्दा थानुके श्रेष्ठ द्वितिय भइन् । उनले १ घण्टा २६ मिनेट २८ सेकेण्डमा हाफ म्याराथुन पार गरेकी हुन् । १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पुरा गर्दै नेपाल आर्मीकी पूर्णलक्ष्मी न्यौपाने तृतिय र नेपाल पुलिस क्लवकी रेखा विष्टले १ घण्टा ३२ मिनेट ४ सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथों भइन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय, सान्तवना भएका उनीहरुले पुरस्कार स्वरुप क्रमश एक लाख ५० हजार , एक लाख, ७५ हजार र सान्तवना पुरस्कार स्वरुप १५ हजार प्राप्त गरे ।
