
पोखरा स्पोर्टस । इन्टरनेशनल तेक्वान्दो महासंघ (आइटिएफ)को आयोजना तथा नेपाल खेलकुद महासंघ (नेकोस)को सहआयोजनामा एक दिने ब्ल्याक बेल्ट–प्रोमोसनल टेष्ट सम्पन्न भएको छ ।

पोखरा रंगशालामा आयोजित उक्त कार्यक्रममा सहभागि खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसद लिला बहादुर थापाले प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा बोल्दै सांसद थापाले खेलाडीहरुको आफ्नो जिवन कठिन भए पनि समस्या संग जुध्ने क्षमता हुने बताउँदै आफ्नो जिवन सरल रुपमा अघि बढाउन आग्रह गरे ।
यूवा अवस्थामा आफू पनि खेलाडी भएको खेलाडीहरुको मर्मका बारेमा आफू जानकार रहेको बताउँदै खेलकुदको विकासका लागि संसदबाट कानुन निर्माण गरी मूर्तरुपमा दिने विषयमा समेत आफू सचेत रहेको सांसद थापाले औंल्याउँदै भने–“यदि अव पनि खेलकुदको विकासका लागि संसदमा आवाज उठ्दैन भने त्यसको कुनै अर्थ छैन । हामी खेलकुदमा रहेका समस्याका विषयमा संसदमा उठाउने मात्रै नभई समाधानका लागि कानुन बनाएर त्यसलाई समाधान पनि गर्नेछौं ।” खेलाडीहरु जङ्क फुड भन्दा पनि स्वस्थ्य वर्द्धक खानपानमा समेत ध्यान दिन उनले खेलाडीहरुलाई आग्रह गरे ।
सो अवसरमा सांसद थापालाई आइटिएफ तेक्वान्दोले गण्डकी प्रदेशको संसदमा निर्वाचित भएकोमा सम्मान समेत गरेको थियो ।
नेकोस अन्तर्गत गठित आइटिएफ तेक्वान्दोका अध्यक्ष तथा सिनियर प्रशिक्षक चेतनराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकोसका केन्द्रिय उपमहासचिव द्वय उमेश केसी, शान्तामायाँ परियार, प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्री, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, सदस्य सचिव सुभास खड्का, नेकोस आइटिएफ तेक्वान्दोका उपाध्यक्ष सुदिप आचार्य लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका ४८ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।
