
केशव पाठक/ पोखरा स्पोर्टस । नेपाली राजनितीले कोल्टे फेरे संगै मुलुकमा संघियता लागु भयो । २०६२–२०६३ को सफल जनआन्दोलन पछि मुलुक संघिय गणतान्त्रतर्फ अघि बढ्यो । त्यसैको पार्दुभाव थियो प्रदेशको स्थापना । प्रदेशको संरञ्चना निर्माण संगै प्रदेश खेलकुद परिषद आफ्नै स्वायत्त ऐनमा उभियो २०७७ मा ।

प्रदेश खेलकुद परिषद गण्डकीको स्थापना संगै प्रदेश सरकारले तेज बहादुर गुरुङलाई सदस्य सचिवको रुपमा अघि सार्यो २०७७ फागुनको पहिलो साता । सिङ्गो परिषदको गठन संगै परिषद अलमल र नयाँ सिकाईमा थियो । प्रदेशको खेलकुद विकासका लागि अवधारणा अघि सार्ने क्रममा धेरै छलफल वहश र नयाँ खोजी पछि जन्मियो ‘खेल्छ गण्डकी’ ।
तत्कालिन सदस्य सचिव गुरुङको खेल्छ गण्डकी अवधारणामा अघि सारेको विषयले प्रदेश सरकारको योजना तथा निती आयोगलाई समेत झक्झकाएन उक्त अवधारणामा अघि बढ्न हौसियो । आर्थिक वर्ष २०७९/०८० को पारित बजेटमा ३० लाख बजेट विनियोजित समेत भयो । जुन प्रदेश खेलकुद विकासका लागि महत्वपूर्ण फड्को समेत थियो ।
उक्त अवधारणा अघि बढे संगै परिषदका तर्फबाट जिम्मेवारी पाए परिषदका सदस्य खगेन्द्र क्षेत्रीले । खेलाडी समेत रहेका क्षेत्रीले यूवा अवस्थाबाटै विश्वका धेरै मुलुकमा आफूले देखेको र भोगेको खेलकुदलाई खेल्छ गण्डकी मार्फत यसको संस्थागत विकासका लागि योजना बुन्ने क्रममा अघि सरेका छन् । शिर्षकमा खेलो इन्डिया संग केही हद सम्म नाम मिल्न गए पनि यसको अवधारणा भने फरक परिदृश्य र भिन्न रहेको क्षेत्रीको बुझाई छ ।
के हो त खेल्छ गण्डकी
खेल्छ गण्डकी प्रदेशको खेलकुद विकासको अभिन्न अङ्ग मात्रै होइन खेलकुद मार्फत प्रदेशको समृद्धिको यात्रामा नयाँ अभियान समेत हो । खेलकुद मार्फत वृहत्तर विकास, स्वस्थ्य नागरिक उत्पादन र विशेष गरी खेलकुदलाई व्यवसायिकता तर्फ डोर्याउने पहिलो पाइला समेत हो । खेल्छ गण्डकीले खेलकुदको विकासका लागि आवश्यक पहिलो बाटो उत्पादन दोश्रो संरक्षण र प्रवर्द्धन तथा तेश्रो स्पोर्टस फर अल अवधारणालाई कार्यक्रमिक रुपमा अघि बढाउने नै हो ।
यो अवधारणाको पहिलो कार्यक्रम उत्पादन अन्तर्गत ग्रासरुट लेभलमा (तहगत) खेलाडीलाई खेलकुद र खेल बारे जानकारी र पहिचान गराउने । प्रदेशको तल्लो तहसम्म विद्यालय खेलकुद परियोजना तयार गर्ने र खेलकुद शिक्षकको अनिवार्यता, राष्ट्रपति कप जस्तै अन्य खेलकुदका कार्यक्रमहरु वैज्ञानिक तवरले तयार गर्ने । खेलकुद कार्यक्रम र सहभागितालाई प्रोत्सहान गर्ने । स्थानियतहहरु संग समन्वय गरी खेलकुद अनुशासन, स्वस्थ्य प्रतिष्पर्धा र खेल संस्कृतिको विकासमा जोड दिने महत्वपूर्ण रुपमा रहेका छन् । यस कार्यक्रमबाट स्वस्थ्य नागरिक संगै स्वस्थ प्रतिष्पर्धाका लागि नागरिकहरुको उत्पादनमा सहयोग गर्ने ।
संरक्षण र प्रवर्द्धन
नेपाली खेलकुदको इतिहासलाई पछि फर्किएर हेर्ने हो भने एक खेलाडी समाजमा उभिन र खेल जिवन पछि उसले प्राप्त गर्ने जिवनलाई अझै उच्चस्तरको रुपमा विकास वा अघि बढेको छैन । खेल्छ गण्डकीको अभियानमा समेटिएको अर्को महत्वपूर्ण पाटोको रुपमा रहेको संरक्षण र प्रवर्द्धनले विभिन्न तहगतबाटै ट्यालेन्ट हन्ट गरी सम्भाव्यता रहेका खेलाडीहरुको उत्पादन, उनीहरुको संरक्षण र उनीहरुलाई प्रवद्र्धन गर्दै खेल जिवनको सवलीकरण गर्नु नै हो । खेलाडीहरुको तहगत ट्यालेन्ट हन्ट गर्ने, निशुल्क र अनिवार्य शिक्षा तथा हरेक दिन प्रशिक्षणको व्यवस्था गरी क्षमतावान खेलाडीको रुपमा स्थापित गरी उनीहरुको रोजगारका लागि शुनिस्चितता गर्ने ।
स्पोर्टस फर अल
हरेक उमेर समुहका लागि खेलकुद जिवनको अभिन्न पाटोको रुपमा अघि बढाउन खेल्छ गण्डकी मार्फत अभियान सञ्चालन गर्दै नागरिकहरुलाई खेलकुद गतिविधिमा अघि बढाउँदै सक्रिय खेलकुद अभियानलाई जोड्न प्रेरित गर्ने । जसका लागि ‘डिजिटल क्याम्पेन’, सोसल मिडियाको प्रयोग गर्दै खेल मार्फत स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन, महिलाहरुको आत्मरक्षा कार्यक्रम सञ्चालन गर्ने तथा स्थानिय सरकार संग मिलेर समुदायमा आधारित खेल पार्कहरुको निर्माण गर्ने संगै यस्तै खेल अभियानहरु मार्फत स्वस्थ्य गण्डकी र समृद्ध गण्डकीको अवधारणालाई मुलमन्त्रको रुपमा स्थापित गर्ने ।
पहिलो अभियान (पाइलट प्रोजेक्ट)
खेल्छ गण्डकी मार्फत ११ वटै जिल्लामा ट्यालेन्ट हन्ट गरी कुनै एक खेल कार्यक्रमलाई पहिलो चरणको रुपमा अघि बढाउने । कार्यक्रममा विशेष गरी २०७९ मा एसइई दिएर बसेका कम्तिमा ५० जनालाई प्राथमिकतामा राखी पहिलो चरणको प्रशिक्षणमा अघि बढाई उनीहरु भित्र रहेको अन्तरनिहित क्षमताको अन्तर्निहित क्षमताको पहिचान गरी निशुल्क रुपमा आवाशिय सुविधा सहित उच्च शिक्षा, दैनिक प्रशिक्षणको व्यवस्था गरी खेल संघहरु मार्फत कार्यक्रमलाई मुर्तरुप दिइने । यस संगै आगमी दिनमा अभियानमार्फत निजी क्षेत्रलाई समेत एकाकार बनाउँदै शिक्षा क्षेत्र र परिषदको समन्वयमा धेरै भन्दा धेरै खेलाडीहरुलाई कार्यक्रममा जोडी प्रवद्र्धन र सरक्षणमा अघि बढाउने ।
साथै खेल्छ गण्डकी प्रदेश सरकारको आफ्नो कार्यक्रम भए पनि यसमा हुने चुनौतीहरु भने रहेका छन् । बजेटकको निरन्तरता र सुनिश्चतता, खेल संघहरुले गर्ने व्यवस्थापन, जनशक्तीको अभाव तथा ड्रप आउट हुने समस्या मुल चुनौतीका रुपमा रहेका छन् । यस संगै यो कार्यक्रमलाई अघि बढाउनका लागि ओलम्पिक कमिटि, खेल संघहरु, शिक्षण संस्थाका छाता संगठन हरु, निजी क्षेत्र, संघ र प्रदेश स्वास्थ्य र शिक्षा मन्त्रालय, स्थानिय सरकार, राष्ट्रिय खेलकुद परिषद, यू ट्युव, फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता डिजिटल प्लेटफर्महरु समेत अभिन्न रुपमा रहेका छन् ।
अन्त्यमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन माथी उल्लेखित संघ संस्था सम्मिलित खेल्छ गण्डकी कमिसन गठन गरी योजना निर्माण, बजेट व्यवस्थापन र कार्यान्वयनलाई अघि बढाउने महत्वपूर्ण रुपमा रहेको संयोजक खगेन्द्र क्षेत्रीले आफ्नो अवधारणामा अघि सारेका छन् । खेल्छ गण्डकीलाई मुर्त रुप दिन परिषदमार्फत उल्लेखित विषयमा आधारित रहि छलफल मार्फत यथासिघ्र अघि बढाउने उनको भनाई छ । उनी भन्छन–“यदि हामीले यो कार्यक्रमलाई अघि बढाउन सके प्रदेशको खेलकुद विकासको मेरुदण्ड हुने छ भने अन्य प्रदेशका लागि समेत मोडल प्रोजेक्टका रुपमा स्थापित हुनेछ ।”
