सातौं पोखरा स्पोर्ट्स अवार्ड बैशाख २२ गते हुने

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ आगामी बैशाख २२ गते शुक्रबार हुने भएको छ ।

खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार पोखरा रंगशालामा बसेको उन्नाइसौ बैठकबाट अवार्ड कार्यक्रम आगामी बैशाख २२ गते गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिएका हुन् ।

सोही बैठकबाट नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार स्व.त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले स्थापना गर्न लागेको अक्षयकोषमा पन्ध्र हजार रुपैयाँ प्रदान गर्ने समेत निर्णय गरेको मञ्चका प्रवत्ता समेत रहेका महासचिव पौडेलले जनाए । महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्व. पौडेलको स्मृतिमा दश लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।

यसैगरी मञ्चका कार्यसमिति सदस्य एमबि आस्था मगर तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार प्राप्त गरेकोमा बैठकले बधाई ज्ञापन गरेको छ ।

सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रमका मिति तोकिएपछि प्रतिक्रिया दिँदै मञ्चका अध्यक्ष दीनानाथ बरालले अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए । ‘हामीले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई उत्कृष्ट बनाउन आजबाट तयारि सुरु गरेका छौ, सबैको साथले कार्यक्रम भव्य बन्ने विश्वास छ’ बरालले भने ।

मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने अध्यक्ष बरालले खुलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close