
पोखरा स्पोर्टस । यस्ता घटना संसारमा विरलै हुन्छन् । त्यो कहिं नभएर स्याङजाको वालिङमा बिहिबार भयो । फुटबल खेल चलिरहेको मैदानमा नै प्रभु क्म्पनीको हेलिकप्टर अवतरण भयो । न त हेलिकप्टरमा कुनै टेक्निकल समस्या थियो वा अन्य आपतकालिन अवस्था ।
स्याङजाका केही यूवाले ४० हजार तिरेर रिजर्भमा लगेको हेलीकप्टर खेल मैदानमा सोझै ल्याण्ड गर्यो । पाइलटको यस्तो हर्कतले फुटबल हेरिरहेका दर्शक आक्रोशित मात्रै बनेनन् पाइलट क्याप्टेन रमेश डंगोलले समेत कुटाई खाए ।
वालिङ नगरपालिका ८ मा खेल चलिरहेको मैदानमाथि जबरजस्ती प्रभु हेलिकोप्टर अवतरण गरेपछि क्याप्टेन रमेश डंगोलमाथि कुटपिट भएको हो। पोखराबाट रिजर्भ गरेर वालिङ आएको हेलिकोप्टर प्रथम वालिङ गोल्ड कप चलिरहदाँ मैदानमा अवतरण गरेपछि आक्रोशित युवाले क्याप्टेन डंगोललाई कुटपिट गरे ।
खेलको पहिलो हाफ चलिरहदाँ हेलिकोप्टर खेलमैदानमा झरेपश्चात कुटाई खाएका डंगोलका नाक र मुखमा चोट लागेको छ । वालिङ ९ का बिनोद गैरे, खिम बहादुर थापा, शुशिल गिरी, शुशिल थापाले प्रभुको हेलिकोप्टर रिजर्भ गरेका थिए । डंगोलले खेल चलिरहेको बताइरहदाँ गैरेले बाध्य बनाएर हेलिकोप्टर ल्यान्ड गर्नु परेको डंगोलले बताए । हेलिकोप्टर ल्यान्ड गर्दा मैदानका खेलडीहरु भागेर ठुलो दुर्घटनाबाट बचेका थिए ।
अनुमति बिना खेल मैदानमा झरेको हेलिकोप्टरलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयले पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा जानकारी गराएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले बताए । यस्तै हेलिकोप्टर ल्याउने युवालाई समेत कारबाही गरिने क्षेत्रीले बताए ।
