
पोखरा स्पोर्टस । “प्रथम हिमालय ब्रुअरी तथा बाह्रौं बगर भाई खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता” अन्तर्गत दोश्रो चरणबाट आयोजक टिम बगर भाई खलक बाहिरिएको छ ।
बिहिबार सुरु भएको दोश्रो चरणको पहिलो खेलबाट आयोजक टिम बगर भाई खलक पेनाल्टी सुट आउटमा ठमेल भेट्रान काठमाण्डौ संग पराजित २–१ ले पराजित हुँदै बाहिरिएको हो । निकै प्रतिष्पर्धात्मक खेलको निर्धारित समयमा १–१ मा सकिए पछि भएको पेनाल्टी सुटमा इश्वर गुरुङले टिमका लागि गोल गरे पनि मनोज कुमार गुरुङ र मनोज थापाको प्रहार बाहिरिएको थियो ।
यता ठमेलका लागि नरेश श्रेष्ठको प्रहार बाहिरिंदा सागर थापा र नितिन गुरुङले गोल गर्दै टिमलाई क्वाटरफाइनलको यात्रा तय गराए । निर्धारित समयमा भाई खलकका लागि पहिलो गोल राजु तामाङले गरे पनि ठमेलका लागि सागर थापाले बरावरी गोल फर्काएका थिए ।
प्रतियोगितामा सहभागि एक मात्र विदेशी टिम भारत देहरादुनको युके मास्टर देहरादुन पोखराको दि युनाईटेड संग २–१ ले पराजय व्यहोर्दै घर फर्किने भएको छ । दिपका लागि विजय राई र गंगा बहादुर तामाङले गोल गर्दा देहरादुनका लागि अन्तिम गुरुङले एक गोल फर्काएका थिए ।
पोखराको स्थानिय लेकसाइड भेट्रान पाहुना टोली बुटवल भेट्रान संग पराजित भएको छ । बुटबलका लागि नर कुमार मगरको एक मात्र गोल गरे । चौथो खेलमा चितवन भेट्रान र काठमाण्डौको जोरपाटी भेट्रानलाई ३–१ ले पाखा लगाएको छ । चितवनका लागि रविन्द्र कुमार श्रेष्ठ, सुरेन्द्र चौधरी र हर्कराज गुरुङले समान १–१ गोल गर्दा सान्त्वना गोल स्वरुप जोरपाटीका विकास राईले एक गोल फर्काए ।
यता एक अर्को खेलमा हेटौडा भेट्रानले फ्रिडम फाइटर बि टिमलाई १–० ले स्तव्ध पारेको छ । खेलमा सुलभजङ्ग राणाले गोल गरे । पश्चिम चितवन भेट्रानले पोखराको स्थानिय टिम गार्डेन एफसीलाई पेनाल्टी सुट आउटमा ३–२ ले पराजित गरेको छ भने थापा गाउँ भेट्रानले नागासोती भेट्रानलाई १–० र फ्रिडम फाइटर ए ले सानो गौचरन काठमाण्डौलाई ३–१ ले पाखा लगाएको छ ।
‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नाराका साथ सुरु भएको उक्त प्रतियोगिता माघ ८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारत देहरादुनको एक टिम सहित २४ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँसँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले १ लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ट्रफी सहित नगद ५ हजार प्रत्येक उत्कृष्ट खेलाडीले प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने दुइ टिमलाई २०–२० हजार आयोजकले उपलब्ध गराउने बताएको छ । हरेक खेलमा म्यान अफ दी म्याचलाई पुरस्कृत गरिने छ ।
