
पोखरा स्पोर्टस । उदयपुरका डम्बरबहादुर पुर्बोछानेले कायाक स्लालमको उपाधि जित्दा नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत र्याफटिङ आर–फोरमा कास्कीको प्याडल नेपालले पहिलो स्थान हासिल गरेको छ ।

नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत प्रदर्शनी खेलको रुपमा समावेश र्याफटिङ र कायाकिङ अन्तर्गत आइतबार बिहान दोबिल्लाको सेती नदीमा सम्पन्न र्याफटिङ आर–फोरमा प्याडल नेपालको टोलीले उपाधि जित्दा काठमाडौंको र्याफटिङ एड्भेन्चर्स उपविजेता बन्न सफल भएको हो । कास्कीको र्यापिड रनर एक्सपिडिसन तेस्रो भएको छ ।
दोबिल्लाकै फुस्रे खोलामा भएको कायाक स्लालममा पुर्बोछानेले उपाधि जित्दा चितवनका नवीन श्रेष्ठ उपविजेता भए भने चितवनकै विजय गुरुङले तेस्रो स्थान हासिल गरे ।
राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले आइतबार दोबिल्लामा प्रतियोगिताको उद्घाटन गरेका थिए । सोही अवसरमा आइतबार नै सम्पन्न भएको र्याफटिङ आर–फोरका विजेताहरुलाई पुरस्कृत पनि गरे ।
प्रदर्शनी खेलका रुपमा समावेश गरिएकाले र्याफ्टिङ एन्ड कायाकिङका पदकहरु नवौं वृहत राष्ट्रिय खेलकुदको आधिकारिक पदक तालिकामा गणना हुँदैन । विजेताले नवौं वृहत राष्ट्रिय खेलकुदको पदक प्राप्त नगरे पनि यो राष्ट्रिय संघले गराएको प्रतियोगिता भएकाले आधिकारिकता भने हुनेछ ।
