
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारिरीक सुगठन प्रतियोगिता आईतबारदेखि सुरु भएको छ ।
पोखरा सभागृहमा सुरु भएको खेलको पोखरा महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् । आईतबारको खेलमा ५ ईभेण्टको खेल हुने शारिरीक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए । दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समुहको फाईनल हुनेछ । भने, दोस्रो दिन अन्य विधाका खेल हुनेछन् ।
प्रत्येक समुहमा सहभागी खेलाडीहरुमा प्रि–जर्ज राउण्डबाट उत्कृष्ट ५ छनोट गरीनेछ । सोही ५ जनाबाट फाईनल राउण्ड गरी मेडलको टुंगो लगाईने उनले बताए ।
उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए । शारिरीक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिका अनुसार शारिरीक सुगठनका लागि शनिबारदेखि सोमबारसम्म समय तोकिएको थियो । तर, शनिबार सहभागी खेलाडीहरुको तौल नाप्ने काम सकेर खेल सुरु गरिएको संयोजक श्रेष्ठ बताए ।
