
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको कार्यबाहक सदस्य सचिवको रुपमा घनश्याम पौडेलले बुधबार कार्यभार सम्हालेका छन् ।
यूवा तथा खेलकुद मन्त्रालयका महाशाखा प्रमुख समेत रहेका पौडेलले सदस्य सचिवको समेत कार्यभार सम्हालेका हुन् । सोमबार सदस्य सचिव तेज बहादुर गुरुङको उमेर हदका कारण पदावधि सकिए लगतै मन्त्रालयले पौडेलललाई कार्यबाहक सदस्य सचिवको जिम्मेवारी सुम्पिएको हो । पौडेलले कार्यवाहक सदस्य सचिवको रुपमा पहिलो पटक कार्यभार सम्हाल्ने मौका पाएका छन् । कार्यभार सम्हाल्नु अघि संस्थापक एवं निवर्तमान सदस्य सचिव गुरुङले पौडेललाई परिषदको कार्यकक्षमा स्वागत गरेका थिए ।
सो अवसरमा आफ्ना भनाई राख्दै कार्यबाहक सदस्य सचिव पौडेलले संस्थापक सदस्य सचिव गुरुङको सफल कार्यकाल प्रति आभार व्यक्त गर्दै संघारमा रहेको नवौं राष्ट्रिय सफल बनाउन आग्रह गरेका छन् । उनले भने–“नवौं राष्ट्रिय हाम्रो संघारमा छ । हामी सबैको पहिलो मुख्य जिम्मेवारी प्रतियोगिता सफल बनाउनु हो ।” उनले सबैलाई गण्डकी प्रदेश खेलकुदको विकासमा अघि बढ्न आग्रह गर्दै भने–“म खेलकुदको विज्ञ होइन । यहाँहरुको साथ र सहयोगले नै प्रदेशको खेलकुद विकासमा अघि बढ्ने छु ।”
कार्यभार सम्हाल्नु अघि कार्यवाहक सदस्य सचिव पौडेललाई प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, ऋषीराम गौतम, तारामायाँ थापा मगर, प्रदेशका वोर्ड सदस्यहरु, प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बाँनिया, परिषदका कर्मचारीहरुलगायतले स्वागत गरेका थिए ।
