
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा (आज) बिहिबार बिहान ८ बजे तय गरिएको प्रदेशस्तरिय प्रतियोगिताको उद्घाटन कार्यक्रम वर्षाका कारण प्रभावित भएको छ ।
पोखरामा लगातार भएको भारी वर्षाका कारण प्रभावित भए संगै उद्घाटनका सम्पूर्ण कार्यक्रम रद्ध गरिएको परिषदले जनाएको छ । गण्डकी प्रदेशस्तरिय खेलकुद प्रतियोगिताको बिहिबार पोखरा रंगशालामा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गर्ने तय भएको थियो । उद्घाटन कार्यक्रममा खेलाडीहरुको मार्च पास, झाँकी, लोक सांस्कृतिक कार्यक्रमहरु तय गरिएको थियो ।
परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले वर्षाका कारण उद्घाटन कार्यक्रम स्थगित परेको जनाउँदै खेलहरु भने पूर्व निर्धारित तालिका अनुसार नै अघि बढ्ने जनाएका छन् । सदस्य सचिव गुरुङका अनुसार खेलाडीहरुको पुर्व स्वास्थ्य परिक्षण र निर्धारित तालिका अनुसारको खेलकुद प्रतियोगिताहरु तालिका अनुसार नै संचालन हुने जानकारी गराएका हुन् ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट समेत हुने प्रदेशस्तरिय प्रतियोगिताका लागि यति बेला ११ वटै जिल्लाका ३ हजार भन्दा वढि खेलाडीहरु पोखरामा छन् । प्रतियोगिता भदौ १८ गते सम्म सञ्चालन हुनेछ ।
