
पोखरा स्पोर्टस । पोखरा क्रिकेट एकेडेमीले नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेका कव्वडी र एथलेटिक्स खेलाडीहरुलाई जुत्ता सहयोग गरेको छ ।

एकेडेमीले पोखरा रंगशालामा आइतबार एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई जुत्ता वितरण गरेको हो । क्रिकेट एकेडेमीका कोषाध्यक्ष जिमी गुरुङले कव्वडीका १२ ना खेलाडीहरु र एथलेटिक्सका ५ जना गरी १७ जना खेलाडीलाई जुता वितरण गरिएको बताए । उनले भने–“नवौं राष्ट्रिय खेलकुद खेलकुदको पर्व हो । यो पर्वमा हामीले खेलाडीको हौसला बढाउनु पर्ने हुन्छ । एकेडेमीको सहयोग सानो हो । तर यसले खेलाडीहरुलाई खेलमा लाग्ने प्रेरणा जगाउन सहयोग पुग्ने विश्वास लिएका छौं ।”
उनले सवैलाई नवौं राष्ट्रिय खेलकुद फिल बनाउन एकजुट भएर लाग्न आग्रह गर्दै आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गरे । एकेडेमीले कव्वडी र एथलेटिक्सका खेलाडीहरुलाई २६ हजार बरावरको जुता वितरण गरिएको बताए ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले खेलाडीहरुलाई जुता वितरण गर्दै एकेडेमीलाई धन्यवाद समेत दिए । उनले सानो सहयोगले पनि खेलाडीको हौसला बढ्ने भएकोले एकेडेमीले प्रशंसनिय कार्य गरेको भन्दै अन्य संघ संस्थालाई समेत सहयोगका लागि आग्रह गरे ।
यस अघि एकेडेमी एथलेटिक्सका खेलाडीहरुलाई १८ हजार बरावरको जुता वितरण गरेको थियो । नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेका खेलाडीहरुलाई सहयोग गर्नेमा पोखरा क्रिकेट एकेडेमी पहिलो संस्था समेत हो ।
