
पोखरा स्पोर्टस । कास्की जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड पोखरामा सुरु भएको छ ।

पोखरा रंगशालामा सुरु भएको उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले उद्घाटन गरेका छन् । सो अवसरमा राखेप सदस्य गुरुङले यो प्रतियोगिता यूवा खेलाडी उत्पादनको थलो भएको बताए ।
खेलकुदका लागि विद्यालयनै मुख्य आधार केन्द्र भएको बताउँदै उनीहरुको भविष्य संग गाँसिएका विषयमा पालिकाहरु गम्भिर बन्नु पर्ने बताए । राखेप सदस्य गुरुङले पोखरा रंगशालाको शुरक्षा र सरसफाई यति बेला मुख्य चुनौती रहेकोले सबैले मिलेर रंगशाला हाम्रो हो भन्ने भावनालाई आत्मसात् गर्न आग्रह गरे ।
उद्घाटन कार्यक्रममा आफ्ना भनाई राख्दै माछापुच्छ्रे गाउँ पालिकाका अध्यक्ष मिन बहादुर गुरुङले खेलाडीलाई अनुशासन रुपमा खेल्न आग्रह गरे । उनले भने–“खेलमा जित हार हुन्छ तर हारमा समेत सिक्ने अवसर हो भन्ने कुरालाई खेलाडीले आत्मसात् गर्नु पर्छ ।”
जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना र लेखा प्रमुख डिवी नेपालीले आफ्ना भनाई राखेका थिए ।
दुई दिन सम्म चल्ने प्रतियोगितामा कास्कीका तिन गाउँपालिका र पोखरा महानगरको सहभागिता रहेको छ । प्रतियोगितामा मादी गाउँपालिकाको सहभागिता छैन । रुपाले भने भलिबल खेलमा मात्रै सहभागिता जनाएको छ । प्रतियोगितामा छात्र÷छात्रा एथलेटिक्स, भलिबल, कव्वडी, कराते, तेक्वान्दो र उशु खेलमा प्रतिष्पर्धा हुनेछ ।
