
पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुन लागेको पोखरा स्पोर्टस् अवार्ड –२०७८ मा सहयोग आउने क्रम जारी छ ।
सो अवार्ड कार्यक्रममा पोखरेलीहरुको साझा संस्थाको रुपमा स्थापित पोखरेली मञ्च युकेले ६० हजार नगद सहयोग गरेको छ । पोखरेली मञ्चले उक्त रकम आफ्ना प्रतिनिधि गणेश कार्कीमार्फत आज हस्तान्तरण गरेको हो ।
उक्त रकम पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङ, समाजसेवी तथा शिक्षाविद मञ्चका सल्लाहकार महेश गुरुङ, मञ्चका उपाध्यक्ष प्रवित्र गुरुङ, निवर्तमान अध्यक्ष मान प्रसाद गुरुङ, मञ्चका संस्थापक अध्यक्ष सिवी पुन, सोम गुरुङ, टिकराम (जिवन), ओम गुरुङ र समाजसेवी सेरा गुरुङ, गणेश कार्कीले सहयोग गरेक हुन् । मञ्चका अध्यक्ष करम गुरुङले स्पोर्टस अवार्डको पूर्ण सफलताको कामना गर्दै अवार्ड कार्यक्रम खेलकुद विकासका लागि कोसे ढुङ्गा भएको बताए ।
रकम हस्तान्तरण गर्दै मञ्चका प्रतिनिधि कार्कीले मञ्चले पोखराको सामाजिक र खेलकुद विकासका लागि हरेक वर्ष क्रिकेट प्रतियोगिता, हाइकिङ लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको र पोखरा म्याराथनमा अन्तर्राष्ट्रिय पार्टनर संस्थाको रुपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।
भोली शनिवार आयोजना हुने गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ ।
