गण्डकी प्रदेशस्तरिय क्यानोइङ र परम्परागत डुङ्गा दौड हुने

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा पहिलो पटक गण्डकी प्रदेश स्तरिय क्यानोइङ र परम्परागत डुङ्गा दौड हुने भएको छ ।

उक्त प्रतियोगिता यहि असार १९ गते आइतबार पोखराको फेवातालमा हुने भएको हो । प्रतियोगितामा क्यानोइङतर्फ महिला तथा पुरुष सिंगल्स इभेन्ट र परम्परागत डुङ्गा दौडतर्फ महिला तथा पुरुष टिम इभेन्टका प्रतियोगिता हुनेछन् । प्रतियोगिताका लागि सहभागिहरुको नाम दर्ता सुरु गरिसकिएको परिषदले जनाएको छ ।

उक्त प्रतियोगिता पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संगै सहासिक खेलकुद अन्तर्गत रहेको ‘वाटर स्पोर्टस’को विकासका लागि आयोजना गर्न लागिएको परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले जानकारी दिएका छन् । पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा क्यानोइङ खेल समेत समावेश गरिएकोले पनि तयारी लगायत खेलाडीको पहिचानका लागि प्रतियोगिताले सहयोग पुग्ने उनको भनाई छ । ‘तालै तालको शहर पोखरालाई यस प्रकारका खेलकुद आयोजनाले पनि पर्यटनमा आकर्षण थपिन्छ’ सदस्य सचिव गुरुङले भने ।

प्रतियोगितामा क्यानोइङतर्फ महिला र पुरुष गरी करिव ४० जना खेलाडीको सहभागिता हुनेछ भने परम्परागत डुङ्गा दौडतर्फ महिला र पुरुष गरी २५ टिमको सहभागिता हुन सक्ने प्रतियोगिताका संयोजक बसन्त दवाडीले जनाएका छन् । नेपाल र्याफटिङ एण्ड क्यानोइङ एसोसियसनको सहकार्यमा आयोजना हुने प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरुको क्रमश नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने परम्परागत डुङ्गा दौडमा विजेता हुने टिमले  क्रमश नगद २०, १५ र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

एक दशक पछि फेवातालमा आयोजना हुन लागेको क्यानोइङ प्रतियोगिताको टेक्निकल डाइरेक्टरका रुपमा क्यानोइङका अन्तर्राष्ट्रिय खेलाडी निम मगर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close