
पोखरा स्पोर्टस । पोखरा रंगशालामा आजबाट राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता सुरु भएको छ ।

नेपाल स्केटिङ एण्ड स्केटबोर्डिङ संघको पाँचौ संस्करण राष्ट्रिय प्रतियोगिता पोखरा रंगशालामास्थित अन्नपूर्ण स्केटपार्कमा सुरु भएको हो । प्रतियोगितामा विभिन्न जिल्लाका करिव १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरिरहेको संघका अध्यक्ष अच्युत खनालले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
प्रतियोगितामा सिनियर महिला तथा पुरुष र जुनियरतर्फ छात्र/छात्राको पहिलो चरणको खेलहरु जारी रहेको अध्यक्ष खनालले जानकारी दिए । फाइनलका लागि सिनियर महिला तथा पुरुषबाट ९/९ जना जुनियर छात्रबाट ९ जना र जुनियर छात्राबाट ३ जनालाई छनौट गरिने छ । उनीहरुले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । फाइनलचरणको प्रतियोगिताको निर्णायकका लागि भारत र मालदिभ्सबाट दुई जना निर्णायकहरु पोखरा आउने भएको उनले जानकारी दिए ।
फाइनल खेल भने मंगलबार हुने र त्यसको सम्पूर्ण तयारी पुरा भएको कास्की जिल्ला स्केट वोर्डिङ संघका अध्यक्ष रामचन्द्र कोइरालाले बताए । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गर्नेछन् । प्रतियोगितामा उपाधि विजेता खेलाडीले १५ हजार रुपैयाँ, उपविजेताले १० तथा तेस्रोले ५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
कोभिड १९ का कारण करिव दुई वर्ष देखि उक्त प्रतियोगिता आयोजना हुन सकेको थिएन । नेपालमा सन २०१५ बाट स्केटवोर्डको संघको वार्षिक क्यालेण्डर अन्तर्गत नै राष्ट्रिय प्रतियोगिता हुँदै आएको छ । दुई संस्करण काठमाण्डौमा र स्केट पार्क निर्माण पछि पोखरामा हुँदै आएको छ ।
