
पोखरा स्पोर्टस । फुटबलर कुञ्जन गुरुङ स्वास्थ्य क्षेत्रमा कार्य गर्ने एक अन्तर्राष्ट्रिय संस्था स्वीइनफेन चेरिटेबल ट्रष्टका लागि च्यारिटी मार्फत सहयोग जुटाउन लण्डन म्याराथन सहभागीता जनाउने भएका छन् ।
आइतबार,अक्टोबर ३ मा हुने विश्वकै प्रख्यात मानिएको लण्डन म्याराथनमा सहारा यूके द्वारा गठित क्लव सहारा एफसीका कप्तान समेत रहेका कुञ्जन दौडिने भएका हुन । सो बारे जानकारी दिंदै सहारा यूकेका उपाध्यक्ष रि.ले.कुशाङ गुरुङले स्वीइनफेन ट्रष्टको च्यारिटीका लागि कुञ्जन म्याराथनमा सहभागीता जनाउन लागेको बताए ।
सहारा उपाध्यक्ष गुरुङका छोरा समेत रहेका ३० वर्षिय कुञ्जन सन २०११–२०१२ मा हिमालयन शेर्पा क्लबबाट एक सिजन नेपालमा लिग समेत खेलेका थिए । “कुञ्जन निकै राम्रो फुटबल खेलाडी हुन,” सहारा यूकेका अध्यक्ष कुमार गुरुङले भने–”सहारा एफसीमा कप्तानी सम्हालिरहेका छन्, कुञ्जन भोली सहभागी हुने लण्डन म्याराथनका लागि म हार्दिक वधाई र शुभकामना दिन चाहन्छु ।” च्यारिटीका लागि सहभागी हुने कुञ्जनले च्यारिटी मार्फत करिव ३ हजार ७ सय पाउण्ड भन्दा माथी संकलन समेत गरिसकेका छन् । यो रकम एक्लैले संकलन गर्न सक्नु आफैमा निकै महत्वपूर्ण रहेको बताउँछन सहारा यूकेका अध्यक्ष कुमार गुरुङ । उनले दौड पछि आफूले संकलन गरेको उक्त रकम स्वीइनफेन ट्रष्टलाई हस्तान्तरण गर्नेछन् ।
स्वीइनफेन च्यारिटेवल संस्थाले नेपालको पर्वत स्थित फलेवास स्थित चार भञ्ज्याङ खाल्टेमा समेत करिव ४० लाख खर्चेर टेलिमेडिसिन स्वास्थ्य संस्था निर्माण गरेको छ भने नेपालको धादिङ लगायत अन्य जिल्लामा समेत यस्तै प्रकारका स्वास्थ्य संस्था निर्माणका लागि शुरुवात गरिरहेको बताए । उपाध्यक्ष गुरुङका अनुसार हाल स्वीइनफेन ट्रष्टले विश्वका धेरै ठाउँहरुमा स्वास्थ्यका लागि कार्यरत रहेको बताए ।
संसारमा आयोजना हुने प्रमुख ५ म्याराथन मध्ये लन्डन म्याराथन पनि एक हो । हरेक वर्ष यसमा संसारभर गरी ३६ हजारभन्दा बढी धावक सहभागी हुन्छन भने च्यारिटी मार्फत समेत लाखौं सहयोग संकलन समेत गर्ने गरिन्छ ।
स्मरणिय के छ छने कुञ्जनका वुवा तथा सहारा युकेका उपाध्यक्ष रि.ले.कुशाङ गुरुङ विश्वको चर्चित र एकदमै कठिन मानिने मलेशियाको माउन्ट किनाबुलु दौडका पदकधारी खेलाडी हुन । उनले बनाएको रेकर्ड एक दशक सम्म कुनै धावकले तोड्न सकेको छैन ।
