
पोखरा स्पोर्टस । मनाङको नासो गाउँपालिका १ स्थित नासो ताल क्षेत्रका बाढी प्रभावितको लागि पोखरामा राहत संकलन अभियान सुरु भएको छ ।
शुक्रबार उक्त क्षेत्रमा व्यक्तिगत खर्चमा हेलिकोप्टर चार्टर गरी केही राहत सामाग्री सहित त्यहाँको बस्तुस्थिती बुझ्न पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले नासोबासीको लागि पोखरामा राहत संकलन गर्न सुरु गरेका हुन् ।
विभिन्न व्यक्ति तथा संघ संस्थाबाट तिन दिनमा करिब १ लाख २५ हजार मुल्य बराबरको खाद्य सामाग्री उपलब्ध भएको राखेप सदस्य गुरुङले बताए । उक्त सहयोग पुर्व शसस्त्र प्रहरी महानिरिक्षक स्व.सहबिर थापाको परिवारबाट धर्मपत्नी कल्पना थापा, छोराहरु आशिष थापा, अभिषेक थापाबाट ५० हाजार मुल्य बराबरको खाद्य सामाग्री उपलब्ध भएको उनले जनाए ।
त्यसै गरी पोखराका युवा व्यवसायी दीपक बरालले आफ्ना बाबु सोमनाथ बरालको स्मृतिमा ५० हजार मुल्य बराबरको खाद्य सामाग्री उपलब्ध गराएका छन भने पोखरा लालीगुराँस निवासी भरत बरालले २५ हजार मुल्य बराबरको खाद्य सामाग्री उपलब्ध गराएको सदस्य गुरुङले जानकारी दिएका छन ।
बाढीका कारण मनाङ नासोवासीको अबस्था एकदमै पिडादायी रहेको र आफू फर्किएर पोखरा आउने वित्तिकै धेरै सहयोगी हातहरु अघि आएको बताउँदै प्राप्त राहत सामाग्रीहरु चाँडै नै नासोवासी र अन्य वाढी प्रभावित क्षेत्रमा पु-याउने राखेप सदस्य गुरुङले बताए ।
