
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)को तत्वावधान तथा स्पोर्टस फर अल कमिसनको आयोजनमा शनिबार बाट ‘अन्तर्राष्ट्रिय ओलम्पिक दिवश २०२१’ काठमाडौ लगायत देशका विभिन्न भागमा शुरु भएको छ ।



जस अनुसार सातदोबाटो स्थित ओलम्पिकको मुख्यालयमा आयोजित विशेष कार्यक्रमबीच सम्पूर्ण सुरक्षा अपनाएर ओलम्पिक दिवश मनाउन शुरु गरिएको हो । आजबाट शुरुभएको अन्तर्राष्ट्रिय ओलम्पिक दिवश २०२१ को नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एकबाल मियाँले नेपालको भण्डा झण्डोत्तोलन गरी शुरु गरेका छन । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मियाँले नेपाली खेलकुद विकासका लागि सामुहिक प्रयास आवश्यक भएको बताउंदै आफु नेपाली खेलकुदको विकासमा सबै प्रकारले सहयोग गर्न तयार रहेको बताए ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक डे’को आयोजनाले नेपाली खेलकुद र समग्र समाजमा नै भातृत्व र शान्ति बढ्ने बताए । सो अवसरमा एनओसीका अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डा झण्डोत्तोलन समेत गरेका थिए । सोही अवसरमा खेलकुद मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठबीच मैत्रीपूर्ण टेबल टेनिस खेल समेत भएको थियो ।
कार्यक्रममा स्पोर्टस फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ‘ओलम्पिक डे’को महत्वबारे प्रकाश पारेका थिए । उद्घाटन कार्यक्रममा गायन समेत प्रस्तुत गरिएको थियो ।
उद्घाटन कार्यक्रममा एनओसीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान, उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य, उपाध्यक्ष अशोक रत्न बज्राचार्य, उपाध्यक्ष ज्योती राणा, महासचिव निलेन्द्रराज श्रेष्ठ, सचिव द्वय तुलशा थापा, दिपकहर्ष बज्राचार्य, एनओसीका सदस्यहरु राम अवाले, तासी घले, गोपाल सुन्दर कक्षपती, एनओसीका पूर्व सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरिाक रमेश कुमार श्रेष्ठ, ओलम्पियन दिपक विष्ट, प्रविन तुलाधर, कमल अधिकारी, स्नेहा राज्य लक्ष्मी शाह र देवु थापाको सहभागिता रहेको थियो ।
नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक दिवश मनाउँदै आइएको छ । यसवर्ष एनओसी तथा यस मातहतका विभिन्न संघ संस्थाले २ सय ३१ कार्यक्रमहरु आयोजना हुंदैछन ।
