नयाँ वर्षमा दौडिनेछ पोखरा साइकलमा, देश भरका स्थानिय प्रमुखहरु पोखरा आउन निम्तो

पोखरा स्पोर्टस । नयाँ वर्ष आगमन संगै पोखरा साइकलमा दौडिने भएको छ ।

पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसरमा ‘मेयर साइकल दौड प्रतियोगिता’ आयोजना गर्न लागे संगै पोखरा साइकलमा दौडिने भएको हो । पोखरामा पत्रकार सम्मेलन गरी नयाँ वर्षकै दिन २०७८ वैशाख १ गते उक्त प्रतियोगिता गर्न लागेको महानगरले जनाएको हो ।

कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको प्रमुख मानबहादुर जिसीले जानकारी दिए । प्रतियोगितामा देशभरका स्थानीय तहका प्रमुखहरुलाई सहभागिताका लागि पत्राचार गरिसकेको प्रमुख जिसीले जानकारी दिएका छन ।

बढ्दो औद्योगिकीकरण र सवारी साधनको अधिक वृद्धि भएको अवस्थामा महानगरले साइकल प्रयोगलाई प्रेरित गर्दै लैजाने नीति अघि सारेको बताउँदै प्रमुख जिसीले भने–“पोखरा महानगरपालिकाले तालदेखि तालसम्म ८४ किलोमिटर साइकल ट्रर्याकको आवश्यक पूर्वाधार निमार्ण गर्न लागेको छौं बिना इन्धन चल्ने तथा शारीरिक कसरत समेत हुने सँगै वातावरण संरक्षणमा साइकल उपयुक्त माध्यम भएको सन्देश दिन यो कार्यक्रम सफल हुनेछ ।”

प्रतियोगितामा महानगरपालिकाको कार्यालयबाट सुरु गरि न्युरोड, सृजनाचोकहुँदै लेकसाइडको हल्लनचोकसम्मको ५ किलोमिटर दुरी पार गर्नुपर्ने प्रतियोगिताका संयोजक तथा वडा नं १३ का अध्यक्ष दर्शन लामाले जानकारी दिए । प्रतियोगितामा विजेतालाई पुरस्कारको व्यवस्था भने गरिएको छैन । सबै स्थानिय तहसँगको आत्मियता बढाउन र साइकलको प्रवर्द्धन गर्न यस्तो प्रतियोगिताले टेवा पुग्ने संयोजक लामाको भनाई छ ।

स्थानीय निर्वाचन पश्चात स्थानीय सरकारका प्रमुखहरु एकै ठाउँमा जम्मा भएर सरकार सञ्चालनका प्रक्रियामा सिकेका सिकाइ अनुभव आपसमा साटासाट गर्ने उद्देश्यले वैशाख १ गतेकै दिन राष्ट्रिय मेयर सम्मेलनको आयोजना समेत गरिएको छ ।

स्थानीय तहहरुमा वातावरण मैत्री विकासलाई प्रवर्द्धन गर्न छोटो दूरीको सवारी साधनको रुपमा साइकललाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा सम्मेलनमा छलफल हुने प्रमुख जिसीले बताएका छन । उनले जोड दिंदै भने–“स्थानीय निर्वाचन पश्चात हालसम्म स्थानीय सरकारको प्रमुखको रुपमा काम गर्दा के कस्ता सकारात्मक तथा नकारात्मक सिकाइहरु भएका छन् ती विषयमा अनुभव आदानप्रदान गर्ने छौं भने अन्तरपालिका सम्बन्ध कसरी मजबुत बनाउन सकिन्छ भन्ने विषयहरुमा साझा दृष्टिकोण तयार गर्ने छौं ।”
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close