
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा गण्डकी प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम आइतबारदेखि पोखरामा सुरु भएको छ ।

अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता, भेट्रान खेलाडी र स्थानिय खेल संघका प्रतिनिधि गरी १ सय ४९ जनाको सहभागिता रहेको छ ।

दुईदिने कार्यक्रमको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा वोल्दै सदस्य सचिव सिलवालले पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिएका छन । पोखरामा नवौ राष्ट्रिय खेलकुदको भव्य आयोजनाको तयारी गर्ने बताउँदै १३ औं दक्षिण एशियाली खेलकुदको आयोजनालाई विश्व जगतले समेत निकै प्रशंसा गरेको अनुभव सुनाए ।

उक्त अवसर युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव भक्तबहादुर ढकाल, राखेपका सदस्यत्रय राजेश गुरुङ, सम्पन्न श्रेष्ठ र रेणुका श्रेष्ठ, प्रशासन विभाग प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण केन्द्रका निर्देशक अर्जुन विकलगायतको लगाएतले खेलकुदलाई विश्व जगतको वदलिंदो खेलकुद सँग जोड्न आवश्यक रहेको कुरामा जोड दिएका थिए ।

कार्यक्रमको पहिलो दिन सदस्य–सचिव सिलवालले स्पोर्ट्स म्यानेजमेन्ट, डा. ज्ञानेन्द्रविक्रम शाहले स्पोर्ट्स मेडिसिन, १० औं सागअन्तर्गत करातेतर्फ एकल काताकी स्वर्णधारी सुलोचना सिजख्वाले स्पोर्ट्स साइकोलोजी, रमन नेपालीले स्पोर्ट्स मोटिभेसन, राजेन्द्ररत्न तुलाधरले कन्डिसनिङ एन्ड फिट्नेस र सकुना देनीले मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स बारे जानकारी दिएका थिए ।

प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम पोखराको अन्तिम कार्यक्रम हो । बाँकी छ प्रदेशको खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ ।

यसै विच कार्यक्रममा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालका पदाधिकारी। सल्लाहाकार तथा आजिवन सदस्यहरुले आफ्नो अुनभव सुनाएका थिए । उनीहरुले पोखरा रंगशालाको पर्खाल निर्माण लगाएत खेलकुदमा पोखरेली खेलाडीहरुको योगदानलाई कदर गर्नुपर्ने कुरा औल्याउँदै विश्वमा छरिएर रहेका नेपालीहरुले पोखराको खेलकुदमा गरेको सहयोगका लागि समेत राखेपले सम्मान दिनुपर्ने बताए ।

कार्यक्रममा मञ्चका अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्ग रानाभाट, प्रथम उपाध्यक्ष हरि प्रसाद पराजुली, द्वितिय उपाध्यक्ष दिल बहादुर गुरुङ,महासचिब खेम गुरुङ, सल्लाहाकार अशोक पालिखे, आजिवन सदस्यद्वय तिर्थ श्रेष्ठ र मेनकाजी गुरुङ, कार्यसमिती सदस्यद्वय दिनेश श्रेष्ठ र भरत आले लगाएतले आफ्ना धारणा राखेका थिए ।







