पोखरा स्पोर्टस । नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तयारीका लागि पोखरा आउने भएको छ ।
विश्वकप २०२२ को छनोट खेलको तयारीका लागि राष्ट्रिय फुटबल टिम पोखरा आउने भएको हो । करिव दुई साताको क्लोज क्याम्पका लागि पोखरा आउने टिमका लागि मैदान लगाएतका पूर्वाधारको निरिक्षणका लागि एन्फाको एक टोली यति बेला पोखरा आएको छ ।

पोखरामा हुने क्लोज क्याम्पका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पोखरा रंगशालाको मुख्य फुटबल स्टेडियम र दोविल्ला स्थित सहारा एकेडेमीको फुटबल मैदानलाई प्रशिक्षणका लागि प्राथमिकतामा राखेको छ । यो सँगै टोलीले पोखरा १९ स्थित गोष्तेघाटको मैदान र पश्चिम पृतना स्थित खेल मैदान समेत निरिक्षण गर्नेछ । नेपाली राष्ट्रिय टोली पोखरा आउनु अघि मैदानको निरिक्षणका लागि एन्फाका महासचिब इन्द्रमान तुलाधर, केन्द्रिय सदस्यद्वय विजय घले र दिनेश व्यन्जनकार सहितको एक टोली पोखरा आएको छ । केन्द्रिय सदस्य घले कम्पिटिशन संयोजक हुन भने व्यन्जनकार शुरक्षा संयोजक हुन ।
राष्ट्रिय टिम क्लोज क्याम्पका लागि पोखरा आउने बारे पोखरा स्पोर्टसलाई जानकारी दिंदै महासचिब तुलाधरले मैदान, होटल लगाएत यातायातको सुविधा समेत जानकारी लिने बताए । उनले भने–“अहिले हामी प्रारम्भिक निरिक्षणमा छौं, पोखरा रंगशालाको मुख्य स्टेडियम र सहारा एकेडेमीको फुटबल मैदान निरिक्षण गर्नेछौं । उनले खेलाडीलाई आवश्यक पर्ने चेन्जिङ रुम लगाएत अन्य सुविधाका बारे समेत जानकारी लिने बताए ।

काठमाडौं स्थित दशरथ रंगशाला विश्वकप छनोट खेलका लागि मर्मतको काम गर्नुपर्ने भएकोले राष्ट्रिय टोली पोखरा आउने भएको महासचिब तुलाधरले जानकारी दिए । नेपालले अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डन सँग होम ग्राउण्डका छनोट खेल खेल्ने छ ।
पोखरामा भने छनोट खेल नहुने बारे प्रष्टाउँदै महासचिव तुलाधरले पोखराको मैदानमा फ्लड लाइट नभएका कारण त्यो सम्भावना नरहेको बताए । उनले भने–“अहिले फिफाको नियम अनुसार गेम दिउँसै हुने भए पनि फ्लड लाइट आवश्यक छ तर त्यो पोखरामा छैन ।” उनले पोखरा सवैकुराले प्रतियोगिता गर्न योग्य भए पनि अन्तर्राष्ट्रियस्तरका फुटबल म्याचका लागि पोखरा रंगशालाको मुख्य स्टेडियममा फलड् लाइट आवश्यक रहने बताए ।

सन २०२२ मा कतारमा हुने विश्वकपका लागि नेपालले होम ग्राउण्डमा तिन म्याच खेल्न वाँकी छ । यस अघि भएको अवे म्याचमा नेपाल अस्ट्रेलिया सँग पराजित भइसकेको छ भने चाइनिज ताइपेइलाई जितेको छ । होम ग्राउण्डमा नेपालले चाइनिज ताइपेई सँग चैत १२ गते र अष्ट्रेलिया सँग चैत १७ गते खेल्दैछ भने जोर्डन सँग जेठमा मात्रै छनोट खेल हुनेछ ।
पोखराका मैदान निरिक्षण गर्ने क्रममा कास्की जिल्ला फुटबल संघ अध्यक्ष मिलन गुरुङ, स्याङजाका अध्यक्ष मुक्त राना लगाएतको सहभागिता रहेको थियो । निरिक्षणका लागि आएको टोलीले पश्चिमाञ्चल क्षेत्रिय खेलकुदको कार्यालय प्रमुख लक्ष्मण योगी, प्राविधिक प्रनिश ताम्राकार सँग पोखरा रंगशालाको निर्माण बारे जानकारी लिएको थियो ।
