
पोखरा स्पोर्टस । पछिल्लो समय अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन जाने खेलाडीहरुका लागि प्रशिक्षण गर्न पोखरा आर्कषक थलो बन्दै गएको छ ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग)का ८ वटा खेलहरु पोखरामा सम्पन्न भएपछि ति खेलका पूर्वाद्धार सँगै खेल सामाग्रीहरु समेत उपलव्धता भएका कारण पोखरा प्रशिक्षणका लागि पछिल्लो समय आर्कषक थलो समेत बन्दै गएको हो ।

यसै क्रममा जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलमा सहभागिता जनाउने महिला भारोत्तोलन खेलाडी थप तयारीका गर्न वन्द प्रशिक्षणका लागि पोखरा आएका छन । ओलम्पिकमा सहभागिता जनाउन जाने खेलाडी कमला श्रेष्ठ र सञ्जु चौधरी तथा प्रशिक्षक सञ्जय महर्जन वन्द प्रशिक्षणका लागि पोखरा आएका छन । नेपालको भारोत्तोलन खेल इतिहासमा महिला तर्फ पहिलो पटक नेपाली महिला टोलीले ओलम्पिकमा सहभागिता जनाउने छ । नेपालले स्कलरिशिप मार्फत उक्त अवसर प्राप्त गरेको हो ।

१३ औं सागमा स्वर्ण पदक विजेता सञ्जु चौधरी ५५ केजी तौल तर्फ ओलम्पिकमा सहभागिता जनाउने छिन । उनी समुहमा जुनियर एशियन च्याम्पियन समेत हुन भने उज्वेकिस्तानमा सम्पन्न जुनियर तर्फनै समुहमतर्फ स्वर्ण पदक विजेता रहेकी छन । चौधरी कोरियामा सम्पन्न एशिया कपमा ३ रजत र ३ काँस्य पदक जितेकी छन ।
त्यस्तै ओलम्पिमा सहभागी हुन जाने कमला श्रेष्ठ ५९ केजी तौलतर्फ खेल्दै छिन । सन २०१७ मा जापानमा सम्पन्न जुनियर एशियन च्याम्पियनशिपमा समुहमा दोश्रो हुँदै अन्तर्राष्ट्रिय ऐरिनामा अनुभव संगालेकी उनले सन २०१८ मा काठमाडौंमा सम्पन्न युथ एण्ड जुनियर च्याम्पियनशिपमा स्वर्ण पदक जितेकी थिइन । पाचौं एशियन इनडोर गेम्समा समुहतर्फ स्वर्ण जितेकी उनले सन २०१८ मा नै कोरियामा सम्पन्न एशिया कप र १२ औं सागमा सहभागिता जनाएको अनुभव संगालेकी छन ।

पोखरा प्रशिक्षणका लागि आएको वारे प्रशिक्षक महर्जनले यहाँको मौसमले पनि खेलाडीलाई उत्तिकै सहज हुने बताए । उनले भने–“नयाँ ठाउँमा प्रशिक्षणका लागि खेलाडीमा थप उत्साह आउँछ भने खेलाडीको ध्यान समेत खेल तर्फ धेरै केन्द्रित हुन्छ ।” उनले पोखरा भारोत्तोलन खेलका महत्वपूर्ण थलोको रुपमा रहेको र नयाँ खेलाडी समेत उत्पादन हुँदै गएको बताए । उनले यहाँका खेलाडी सँग प्रशिक्षण गर्दा स्थानिय खेलाडीले समेत सिक्ने अवसर पाउने बताए ।
यता कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन वडगामीले पोखराका लागि यो राम्रो अवसर भएको बताए । उनले पोखरामा रहेका भारोत्तोलन खेलाडीहरुलाई अन्तर्राष्ट्रिय अनुभव संगालेका खेलाडी र प्रशिक्षक सँग सिक्ने अवसर प्राप्त भएकोले सवैलाई प्रशिक्षणका लागि आउन आग्रह समेत गरे ।
ओलम्पिक तयारीका लागि भारोत्तोलन टोलीले पोखरामा २ महिना प्रशिक्षण गर्ने संघका उपाध्यक्ष उमेश सिकेले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले भने–“उहाँहरु दुई महिनाका लागि भनेर आउनुभएको छ, उहाँहरुको वसाई त्यो भन्दा पनि वढी हुन सक्छ ।”
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्त ८ सम्म हुनेछ । जसमा नेपालले भारोत्तोलन सहित केही खेलमा सहभगिता जनाउने छ ।
