भिँडावारी एन्फा टेक्निकल सेन्टर निर्माणका लागि सार्वजनिक सुनुवाई : करोडौँ बजेटको परियोजना आउने खबरले खुसी छौँ– स्थानियवासी

नदी नियन्त्रको प्रक्रिया शुरु गरेका छौँ : माछापुच्छ्रे गाउँपालिका अध्यक्ष गुरुङ

पोखरा स्पोर्टस । अखिल नेपाल फुटबल संघ(एन्फा)ले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणको प्रस्ताव गरेको टेक्निकल सेन्टर (बहुप्राविधिक केन्द्र) निर्माणको खबरले स्थानीयवासी उत्साहित भएको बताएका छन् ।

एन्फाले टेक्निकल सेन्टर निर्माण तथा सञ्चालनका लागि वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन माथिको सार्वजनिक सुनुवाई कार्यक्रमा आज स्थानीयवासीले करोडौँ बजेटबाट निर्माण हुने एन्फाको परियोजना आफ्नो गाउँमा आउने कुराले खुशी लागेको बताएका हुन् ।

परियोजनाबाट उत्साहित भएका उनीहरुले जग्गादाताहरुलाई भने सम्मान तथा रोजगारी लगायतका अवसरमा स्थानीयलाई प्राथमिकता दिन समेत एन्फासँग माग गरेका छन् । उनीहरुले खेलाडी छनोटमा समेत प्रभावित क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

यसैगरी निर्माण क्षेत्र मर्दीखोला र इदीखोलाको दुबैपट्टी नदी नियन्त्रणका लागि आवश्यक काम गर्न र फोहोरमैला व्यवस्थापन लगायतमा योजना बनाएर प्रश्ताव कार्यान्वयनको समेत माग गरिएको छ । स्थानीय एकनारायण अधिकारीले ७० जना जति जग्गादाता तथा मोहीहरुलाई सम्मान र मर्दी तथा इदीखोला नियन्त्रणको पहल गर्न आग्रह गर्नुभयो ।

गोविन्द प्रसाद अधिकारीले एन्फा एकेडेमी बनाउने योजना शुरु गर्नु अघि जग्गाधनीसँग सोधपुछ नभएकाले दुःख लागेपनि विकासका लागि आफूहरुले सहयोग गर्ने र कुनै पनि अवरोध नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,“एन्फाको प्रोजेक्ट आएकामा हामी खुःशी छौँ, सँगसँगै स्थानीयको पनि चित्त बुझाउने काम होस् ।”

ढाकाराम दाहालले स्वास्थ्य चौकीका लागि भनेर आफूहरुले जग्गा दिएर हाल प्रश्तावित क्षेत्रमा बसिरहेको अवस्थामा आफूहरुको वैकल्पिक व्यवस्थापन हुुनुपर्ने बताउनुभयो । स्थानीयवासी जयलाल दवाडीले स्थानीयवासीसँगै सम्पूर्ण देश र नेपालीका लागि आयोजना प्रभावकारी रहेकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

नदी नियन्त्रको प्रक्रिया शुरु गरेका छौँ : अध्यक्ष गुरुङ
माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले एन्फा टेक्निकल सेन्टरको निर्माणमा थप सुनिश्चितताका लागि गाउँपालिकाले प्रश्तावित क्षेत्रमा नदी तटबन्धको काम अघि बढाएको बताउनुभएको छ । गाउँपालिकाले रु पाँच करोड ७६ लाख लागत इस्टिमेट गरी तटबन्धको काम अघि बढाउन बोलपत्र आह्वान गरेको जानकारी दिँदै प्रदेश तथा संघीय सरकारबाट समेत यसप्रति चासो व्यक्त भएको जानकारी दिनुभयो ।

भिँडाबारीमा बहुप्राविधिक केन्द्र निर्माणका लागि एन्फाले निर्णय गरिसकेको बताउँदै उहाँले भन्नुभयो,“फिफा र एन्फाको प्रारम्भिक अध्ययनपछि एन्फा टेक्निकल सेन्टरको काम अघि बढेको हो । गाउँपालिकाको तर्फबाट पनि जमिन उपलव्ध गराउनेदेखी तटबन्ध गर्ने लगायतका काम शुरु भएको छ ।”

अध्यक्ष गुरुङले स्थानीय सरकार जग्गादातालाई सम्मान र निर्णय प्रक्रियामा सहभागी गराएरै अघि बढ्ने पक्षमा रहेको जानकारी दिँदै परियोजनाको सकारात्मक प्रभावलाई बढोत्तरी र नकारात्मक प्रभावको न्यूनीकरण गरिने स्पष्ट पार्नुभयो । आयोजना अघि बढाउँदा आइपर्ने समस्या घरभित्रको आन्तरिक समस्या रहेकाले त्यसलाई घरभित्रै सदस्य बसेर छलफलबाट टुँगो लगाइने उहाँले बताउनुभयो ।

एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले एन्फा टेक्निकल सेन्टर स्थानीय जनताको भविष्यसँग जोडिएकाले यसले स्थानीयलाई समृद्ध बनाउने सघाउ पु¥याउने बताउनुभयो । उहाँले दक्षताका आधारमा परियोजनामा स्थानीयलाई रोजगारीको अवसर सिर्जना हुने समेत जानकारी दिनुभयो । वडाध्यक्ष हरिश्चन्द्र ढुँगानाले एन्फा प्रोजेक्ट आयआर्जन र पर्यटनको गन्तव्य बन्ने बताउँदै स्थानीयवासीसँग राय सुझाव सहित अघि योजना अघि बढाउन आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

एन्फाले भिँडाबारीमा बहुउद्धेश्शीय सेन्टर निर्माणका लागि रु ८० करोड हाराहारीमा लगानी गर्ने भएको छ । पहिलो चरणमा रु २० करोडको काम श्रु हुने र क्रमिक रुपमा चार वर्षमा परियोजना सम्पन्न हुने बताइएको छ । परियोनामा विभिन्न १९ खेल पूवार्धार तथा संरचना निर्माण हुने एन्फाका प्रशासकीय प्रमुख गोकुल थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close